जनप्रतिनिधि र महिलाले शुरु गरे घरेलु मदिरा नियन्त्रण अभियान

Mahila
लाेकपाटी न्यूज

काठमाण्डाैं, ३ जेठ। दाङमा जनप्रतिनिधि र महिलाले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेका छन्। लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका हुन्।

उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन्। गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान शुरु गरिएको घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले बताए।

‘सात वर्षका बालबालिकादेखि ७० वर्षसम्मका वृद्धलेसमेत मदिरा सेवन गर्न थाले, मदिरा सेवनले गाउँमा दैनिक होहल्ला हुन थाल्यो । झैझगडा र कुटपिटले घरेलु हिंसा बढ्यो’, वडाध्यक्ष सार्कीले भने, ‘दैनिक झगडा हुने र मिलापत्रका लागि जनप्रतिनिधिले आधा समय त्यसमा खर्चिनुपर्ने अवस्था आयो।’

वडाका विभिन्न टोलमा गरेर अहिलेसम्म पाँच हजार लिटरभन्दा बढी उत्पादित घरेलु मदिरा र कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको बाह्रहाङ्गे टोल विकास संस्थाका रिखा घर्तीले बताए। ‘गाउँमा बस्न नसक्ने भइयो, दिउँसै रक्सी खाएर बाटामा पल्टिने, बेलुका घरमा झगडा गर्ने र अर्को दिन मिलापत्र गराइदिनुपर्ने दैनिक कामजस्तै भयो’, घर्तीले भने, ‘कति दिन सहने रु सबै समस्याको एउटै कारण घर पालुवा रक्सी हो भन्ने हामीलाई लाग्यो, त्यसपछि रक्सी फाल्ने अभियान शुरु भयो।’

अभियानको पहिलो दिन दुई हजार ५०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको थियो। बिहीबार पनि विभिन्न टोलमा पुगेर मदिरा नियन्त्रणमा लिएको अस्थायी प्रहरी चौकी गोग्लीका इन्चार्ज विष्णुबहादुर बुढाथोकीले बताए।

घोराही उपमहानगरपालिका–४ बाह्रहाङ्गे, माथिल्लो भकारे र तल्लो भकारे, त्यसैगरी माझडाँडा, डाँडागाउँ, ढुङ्गेडाँडा, फल्लेडाँडा, राजधानी टोल, पारखेतलगायतका टोलमा पुगेर मदिरा नियन्त्रण अभियान चलाइएको इन्चार्ज बुढाथोकीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्