पुँजीबजारमा सकारात्मक प्रभाव

लोकपाटी न्यूज

काठमाडौं। चालू आव ०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११३ दशमलव ४२ अंक अर्थात् ४ दशमलव ४१ प्रतिशतले बढेर २ हजार ६८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ।

आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५ सय १७६ कित्ता शेयर १ लाख ६३ हजार ८१० पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा लघुवित्त समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैंकिङ समूह ९ दशमलव ८९ प्रतिशतले बढेको छ।

लगानी समूह पाँच दशमलव ७५ र विकास बैङ्क समूह चार दशमलव ८७ प्रतिशतले बढेको छ। आज एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैंक छन्।

आज नेप्से परिसूचकमा दुईपटक सकारात्मक सर्किट लागेको छ। आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्