अब फेसबुकबाट लाइभ गर्न नपाइने

Facebook live
लाेकपाटी न्यूज

एजेन्सी। फेसबुकको नीति उल्लङ्घन गर्ने व्यक्तिका लागि फेसबुक लाइभ बन्द गरिने भएको छ। न्यूजिल्याण्ड क्राइस्टचर्च मस्जिदमा भएको हमलालाई आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले उक्त घटनामाथि प्रतिक्रिया जनाउँदै त्यस्तो कदम उठाएको हो।

आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको छ। आफ्ना सबैभन्दा गम्भीर नीतिहरूको उल्लङ्घन गर्ने व्यक्तिलाई तत्काल फेसबुक लाइभ सुविधा प्रयोग गर्नबाट निश्चित समयका लागि रोक लगाइने फेसबुकले जनाएको छ।

इन्टरनेटमा उग्रवादलाई प्रोत्साहन दिने खाले सामग्री सम्बन्धी समस्याको समाधानको खोजी गर्न प्यारिसमा बुधवार भएको सम्मेलनअघि त्यस्तो उपाय अगाडि सारिएको हो।

गत मार्चमा न्यूजिल्याण्डको एउटा मस्जिदमा ५१ जनाको ज्यान जाने गरी गरिएको हमलालाई आक्रमणकारीहरूले प्रत्यक्ष प्रसारण गरेका थिए। उक्त घटनाका कारण विवादमा परेपछि फेसबुकले कडा नीति सार्वजनिक गरेको हो। उसले फेसबुकमा प्रत्यक्ष प्रसारण गर्न सकिने सुविधालाई नियन्त्रण गर्ने बताएको छ।

प्यारिसमा हुने सम्मेलनले सामाजिक सञ्जालको प्रयोगबाट आतङ्कवादी गतिविधिको योजना र घटनाको प्रचारप्रसार हुन नदिन भइरहेका अन्तर्राष्ट्रिय प्रयासहरूलाई संयोजन गर्ने लक्ष्य राखेको छ। स्वचालित रूपमा आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाइएका सामग्रीहरू पहिचान गर्न एउटा नयाँ अनुसन्धान साझेदारी सुरू गर्न साढे सात करोड अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता फेसबुकले जनाएको छ।

फेसबुकले आगामी साताहरूमा उसको मातहतका अन्य अनलाइन प्लेटफर्महरूमा पनि यी नयाँ नियमहरू लगाउने बताइएको छ। त्यसमा फेसबुकमार्फत् विज्ञापन गर्नेहरू पनि समेटिने जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्