बागमती। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन्।
नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए। प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गरी अर्को सरकार गठन नहुञ्जेलसम्म उनलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिए।
मुख्यमन्त्रीमा दाबी पेश गर्दै कांग्रेस
नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले यहाँ मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्तका लागि दाबी पेश गर्ने तयारी गरेका हुन्।
‘दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ,’ लामाले भने, ‘कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, त्यसका लागि आवश्यक तयारी भइरहेको छ।’
नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरू भइसकेकाले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा कांग्रेस नेता लामाले दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।



लोकपाटी न्यूज

