तेल पाइपलाइनमाथि ड्रोन आक्रमण : साउदी अरब भयाे त्रसित

drone_attack_MiuOpplhTa01
लाेकपाटी न्यूज

काठमाडौं, ०२ जेठ । मंगलबार साउदी अरबको राजधानी रियादस्थित तेल पाइपलाइनमाथि ड्रोन आक्रमण भएको छ। आक्रमण साउदीको दक्षिणी छिमेकी यमनको राजधानी कब्जा गरेर बसेका हुथी विद्रोहीले गरेका थिए । मंगलबारको आक्रमणमा प्रयोग भएको ड्रोन उच्चस्तरको रहेको जनाइएको छ ।

हुथीले सरकारी तेल कम्पनी अरमाकोको पाइपलाइनमाथि आक्रमण गरेका थिए । आक्रमणबाट पाइपलाइनको दुई स्थानमा क्षति पुगेको छ । आक्रमणले तेलको पाइपमा सामान्य क्षति पारेको भए पनि हुथीले प्रयोग गरेको उच्च प्रविधियुक्त ड्रोनबाट भने साउदी अरब र उसका गठबन्धन सदस्य तर्सिएका छन् ।

सन् २०१५ मार्च २१ मा हुथी विद्रोहीले यमनको राजधानी कब्जा गरेर यता यहनमा गृहयुद्ध जारी छ । त्यसमा साउदी–युएईको नेतृत्वमा रहेका गठबन्धनले हुथीविरुद्ध भिषण बमबारी गरिरहेको छ । हुथी विद्रोहीले समय समयमा आफू विरुद्ध आक्रमण गर्ने देशमा ड्रोन आक्रमण गर्ने गर्छ । पछिल्लो समय ड्रोन आक्रमणको संख्यामा वृद्धि भएको छ ।

सन् २०१८ जुलाईमा एक ड्रोन अबुधाबीको एयरपोर्टमा विस्फोट भएको थियो । विस्फोटले सामान्य असर गरेको भए पनि हुथीले यूएईलाई उसका आर्थिक केन्द्र सुरक्षित नरहेको संकेत दिएको थियो ।

सन् २०१८ जनवरीमा एक शीर्ष गुप्तचर प्रमुख अडेन बाहिर रहेको अल–अनाद हवाई आधारमा मारिएका थिए । त्यसमा पनि बमबाट सुसज्जित ड्रोनको प्रयोग भएको थियो । मार्चमा हुथी विद्रोहीले एक भिडियो सार्वजनिक गरेका थिए, जसमा एक ड्रोन साउदी अरबको अल–शुकइक पानी प्रशोधन केन्द्रमाथि उडिरहेको देखिन्थ्यो ।

ड्रोन उडेर यमनको सिमानाबाट १३० कि.मि. भित्रसम्म पुगेको थियो । ड्रोनबाट कुनै आक्रमण त भएन तर यसबाट हुथीले अरब राष्ट्रको लागि बहुमुल्य पानी पनि आफ्नो निशानामा रहेको संकेत दिएको छ ।

हुथीले प्रयोग गर्ने ड्रोन जीपिएसबाट निर्देशित रहने गरेको र निशानामाथि पुगेपछि लक्षमा झर्ने गरेको छ । विज्ञले हुथीको ड्रोन प्रविधिमा इरानको सहयोग हुने गरेको बताउने गरेका छन् । तर पछिल्लो समय हुथीका ड्रोनमा अन्तरराष्ट्रिय पार्टपुर्जा प्रयोग हुन थालेका छन् । द्वन्द्व लम्बिँदै गर्दा विद्रोही माझमा पनि नवीनताको विकास भएको हुन सक्छ ।