‘सरकार ज्ञानेन्द्र पथमा हिँडिरहेकाे छ’ : विमलेन्द्र निधि

Bimalendra Nidhi01
लाेकपाटी न्यूज

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार ज्ञानेन्द्र पथमा यात्रारत रहेको आरोप लगाएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले जसरी सत्ता हत्याउनका लागि प्रेसमाथि आक्रमण गरे सोही हिसाबले वर्तमान सरकारले पनि कदम चाल्न थालेको निधिको आरोप छ।

मंगलबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रेस काउन्सिल छँदाछँदै त्यसलाई विस्थापित गरेर सञ्चार मन्त्रालयको शाखाको रुपमा मिडिया काउन्सिल बनाउन खोजेको आरोप लगाए । सञ्चार जगतलाई निषेध गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याएर वर्तमान सरकारले आफ्नो कब्जामा लिन चाहेको उनले स्पष्ट पारे।

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र अक्षुणतालाई समाप्त पार्ने लोकतन्त्रविरोधी विधेयक रहेको उपसभापति निधीको तर्क छ। प्रमूख सरोकारवाला रहेका पत्रकारहरुसँग सल्लाह गरी प्रेस काउन्सिललाई थप स्वायत्त बनाउनुपर्ने स्थानमा सरकारले निषेध गर्न खोज्नु नाजायज रहेको उनले बताए।

उपसभापति निधिले भने, ‘पत्रकारलाई जेल र जरिवाना गर्ने प्रावधान अधिनायकवाद बाहेक अरु केही हुन सक्दैन, लोकतन्त्रविरोधी यस्ता कार्यको हामी विरोध गर्दछौं ।’ स्वतन्त्र प्रेसलाई बन्देज गर्ने गरी सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको लोकतन्त्रमा विश्वास राख्ने सबै दलले विरोध गर्नुपर्ने निधिको भनाइ थियो ।

‘सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको छ’, उपसभापति निधिले भने, ‘लोकतन्त्रमाथि विश्वास नगर्ने सरकारले पहिलो आक्रमण प्रेसमाथि गर्दछ । मिडिया काउन्सिलको नाउँमा सरकारले अहिले सोही नमूना प्रस्तुत गरेको हो ।’ पूर्वराजा ज्ञानेन्द्रले नागरिकको स्वतन्त्रता अन्त्य गर्न पहिलो आक्रमण प्रेसमाथि नै गरेको उपसभापति निधिले स्मरण गराए । निधिले भने, ‘मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १ करोड रुपैयाँसम्म जरिवाना तथा १५ वर्षसम्मको जेल सजायको व्यवस्था राख्नुले सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको प्रस्ट हुन्छ।’