गिट्टी कुट्ने र भारी बोकेर खाने नेपालीलाई हेरेर बजेट बनाउँ : घनश्याम भुसाल

Ghanashyam bhusal
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम भुसालले सीमान्तकृत वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्नुपर्ने बताएका छन्।

संसदमा सोमबार विनियोजन विधेयकमाथि छलफल र समर्थनमा भाग लिएका सांसद भुसालले काम गरेर खाने सीमान्तकृत वर्ग केन्द्रित गरेर बजेट बनाउनुपर्ने बताएका हुन्।

‘सीमान्तकृत वर्ग, जसले जागिर पाउँदैन। इँटा बोकेर, भारी बोकेर खानुपर्छ। उनीहरू मान्छे) लाई हेरेर बजेट निर्माण गर्नुपर्छ,’ उनले भने, ‘परम्परागत कृषिमा रहेका मानिसलाई उद्यमतर्फ लैजान सक्नुपर्छ।’

रोजगारीका लागि विदेशिएका तथा परम्परागत कृषिमा अल्झेका चार लाखभन्दा बढी मान्छेलाई केन्द्रीत गरेर बजेट बनाउनु पर्ने पनि भुसालले बताए।

‘समाजवादी बजेटले गर्ने काम भनेको चार लाख मान्छेलाई जागिर दियौं भने त्यसले राष्ट्रिय पुँजी निर्माण गर्छ। सीमान्तकृत मान्छे मध्यम वर्गमा रूपान्तरण हुनसक्छ,’ उनले भने, ‘सीमान्तकृत वर्गमाथि उठ्यो भने दलाल पूँजीलाई नियन्त्रण गरिसकेका हुन्छौं।’