एजेन्सी। अमेरिकी अन्तरीक्ष निकाय नासाले चन्द्रमा लगातार खुम्चिँदै गएको बताएको छ। नासाले १२ हजारवटा तस्वीरको अध्ययन गरेर पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा लगातार खुम्चिँदै गएको निष्कर्ष निकालेको हो।
मानिसको अनुहारमा चाउरी परे जस्तो चन्द्रमामा चाउरी परेको छ। नासाले लुनार रिकोनेसा अर्बिटरबाट लिइएको तस्वीरको अध्ययन गरेर यसको जानकारी सोमवार प्रकाशित रिपोर्टमा दिएको हो। तस्वीर विश्लेषणपछि नासाले चन्द्रमाको उत्तरी ध्रुवनजिक मारे फ्रिगोरिसमा चिरा परेको र त्यो आफ्नो ठाउँबाट घर्किएको जनायो।
चन्द्रमाका विशाल बेसिनहरूमध्ये एक मारे फ्रिगोरिसलाई भूवैज्ञानिक दृष्टिकोणले मृत स्थल मानिन्छ। चन्द्रमामा टेक्टोनिक प्लेट हुँदैन तर त्यहाँ पनि टेक्टोनिक गतिविधि भेटिएकाले वैज्ञानिकहरू आश्चर्यमा परेका छन्। वैज्ञानिकहरूका अनुसार, चन्द्रमामा यस्ता गतिविधि ऊर्जा गुमाउने प्रक्रियाअन्तर्गत साढे ४ अर्ब वर्षअघि भएको थियो।
यसले गर्दा चन्द्रमाको सतहमा किससिममा जस्तो चाउरी पर्ने गर्छ। प्रक्रिया चल्दा चन्द्रमामा भूकम्प आउँछ। ऊर्जा गुमाइरहेका कारण चन्द्रमा विगत लाखौं वर्षयता लगभग १५० फीट खुम्चिएको छ।
मेरिल्यान्ड विश्वविद्यालयका भूगर्भवैज्ञानिक निकोलस चेमरले लाखौं वर्षपहिले भएको भौगर्भिक गतिविधि आज पनि जारी रहेको सम्भावना देखाएका छन्।



लाेकपाटी न्यूज

