अनलाइन मिडियामा देखिएको ‘कपीपेष्ट’ विकृति नियन्त्रण गर्न रेग्मीको जोड

लाेकपाटी न्यूज

काठमाडौं, ३० वैशाख । मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले अनलाइन पत्रकारिता क्षेत्रमा देखिएको ‘कपीपेष्ट’ विकृति नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन्। न्यूजलाइन्स मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित ‘नेपाल भ्रमण वर्ष–२०२० का लागि अनलाइन मिडियाको भूमिका’ विषयक छलफल कार्यक्रममा मन्त्रीपरिषदका पूर्व अध्यक्ष रेग्मीले यस्तो विकृति नियन्त्रण हुनुपर्नेमा जोड दिएका हुन्।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले भ्रमण वर्ष २०२० सँग जोडेर अनलाइन मिडियामा ‘कपीपेष्ट’ संस्कृतिले पत्रकारको कलम सशक्त हुन नसकेको तथा मुलुकको सम्बृद्धिका लागि खेल्नुपर्ने सिर्जनात्मक भूमिकामा कमी आउने भन्दै उठान गरेको विषयमा समर्थन जनाउँदै रेग्मीले पर्यटन प्रवद्र्धनमा मिडियाले सिर्जनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न मिडियाले सिर्जनात्मक भूमिका खेल्नुपर्ने धारणा राखे ।

मुलुकको परिवर्तनका हरेक कालखण्डमा मिडियाले खेलेको भूमिकाको प्रसंशा गर्दै रेग्मीले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गरेर अब मुलुकको आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्न पनि मिडियाको सशक्त भूमिका आवश्यक रहेको बताए ।

प्रदेश नं. ३ का सांसद एवं पूर्व मन्त्री राजेन्द्र पाण्डेले मुलुकलाई सम्बृद्ध बनाउका लागि पर्यटन विकासको विकल्प नरहेको भन्दै पर्यटन विकासका लागि राज्य पक्ष र निजी क्षेत्रसँगै अघि बढ्नुपर्ने बताए । मुलुकमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनहरुमा मिडिया जगतले चौथो अंगको रुपमा भूमिका खेलेको स्मरण गर्दै उनले अब समृद्धिको सपना पूरा गर्न पनि मिडियाले रचनात्मक र सिर्जनात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । आजको सूचना र प्रविधिको जमानामा अनलाइन मिडियाको भूमिका अझ प्रभावकारी हुने भन्दै उनले पछिल्लो पटक देखिएको कपीपेष्टको संस्कारबाट माथि उठेर सत्य, तथ्यमा आधारित समाचार सम्पे्रषण गनुपर्ने आजको आवश्यकता रहेको बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० को तयारी तीब्र रुपमा अघि बढिरहेको बताए । उनले भ्रमण वर्ष सफल पार्नका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र दत्तचित्त भएर लागिरहेको सन्दर्भमा मिडिया जगतको पनि सकारात्मक भूमिका जरुरी रहेको बताए । महतले पछिल्लो पटक एउटामा प्रकाशित भइसकेकै समाचार हुबहु अर्को अनलाइनमा प्रकाशन गर्ने ‘कपीपेष्ट’ प्रवृत्ति हाबी भएकोप्रति सबैको ध्यानाकर्षण गराए । अनलाईन मिडियाहरुले खेलेको प्रभावकारी भूमिकाप्रति प्रशंसा गर्दै उनले अब कपीपेष्ट प्रबृत्तिलाई हटाएर अनलाइन मिडियालाई विश्वासिलो र सिर्जनात्मक बनाउनुपर्ने आवश्यकता रहेको स्पष्ट पारे ।

कार्यक्रममा न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले स्थापनाकालदेखि यस मिडियाले गर्दै आएका विविध गतिविधिहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा वरिष्ठ बामपंथी नेता लोक कृष्ण भट्टराई ,राजपाका बरिस्ठ उपाध्यक्ष राजकुमार थापा ,समाजसेवी रामप्रसाद न्यौपाने, भरत गौतम, नाजिर हुसैन, अक्कल बहादुर तामाङ लगायतका अतिथिहरूको उपस्थिति रहेको थियोे ।

सो कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान गर्नुहुने शिव अधिकारी(अविरल), माधव प्रकाश सुवेदी, कुमार चालिसे, शिवहरि खनाल, राजेन्द्र मर्हजन, विकास थपलीया, महेन्द्र अधिकारी, विष्णुमाया पौडेल, अबिनाश प्रसाईं, रामबहादुर थापा, मनिषा श्रेष्ठ, मनोजकुमार श्रेष्ठ(भरेल), नारायण रेग्मीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्