विद्यार्थी जीवन सबैभन्दा महत्वपूर्ण उमेर हो। यो उमेरमा विद्यार्थीले गर्ने हरेक गतिविधिले उसको भविष्य निर्धारण गर्दछ। एउटा विद्यार्थी अध्ययनशील हुनैपर्छ। तर, कोरा अध्ययनले मात्र हुँदैन, त्यसका लागि योजना चाहिन्छ।
एउटा विद्यार्थी सफल बन्न केही गुण चाहिन्छ। यी हुन् असल विद्यार्थीका १० गुण, जुन तपाईको जीवनका लागि निकै महत्वपूर्ण हुनेछन्।
१) व्यवस्थित दैनिकी – आफूले गर्न खोजेको कामको योजना बनाउनुहोस्। के गर्ने, कहिले गर्ने भन्ने जस्ता कुरालाई ध्यान दिएर अघि बढ्नुपर्छ। यसले तपाईंलाई जिम्मेवारी बनाउनुका साथै अघि बढ्न पनि मद्दत गर्छ।
२) एउटै काममा एकाग्रता – अध्ययनहरूले भनेका छन् कि धेरै कामहरू एकैपटक थाल्नु शारीरिक रूपमा असम्भव छ। त्यसले मानसिक रुपमा समेत बोझ थप्छ। कहिलेकाहीँ त्यसले कामको प्राथमिकतामा बाधा हाल्छ।
३) समय व्यवस्थापन – अध्ययन गर्न मन नलाग्न सक्छ। अध्ययनले मनोरञ्जन नदिन पनि सक्छ। म्याराथनको पारामा अर्थात् द्रुत रुपमा अध्ययन गर्नु पनि गलत हो। यसले झनै कमजोर बनाउँछ। समय मिलाएर अध्ययन गर्नुहोस्। अध्ययनलाई सकेसम्म मनोरञ्जनात्मक बनाउनुहोस्।
४) आराम – हरेक दिन लगभग आठ घण्टासम्म सुत्नुहोस्। तनाव नलिई आनन्दले सुत्दा त्यसले तपाईंको दिमागलाई तीक्ष्ण बनाउँछ। पढेका कुराहरू लामो समयसम्म सम्झन सक्नुहुन्छ।
५) दैनिक तालिका – स्कुलबाहेकको समयमा राम्रो काम गर्न सक्नुहुन्छ कि खाना खाइसकेपछि ? कुन समयमा बढी उत्पादक बन्न सक्नुहुन्छ ? कुन समय आफ्ना लागि उपयुक्त हुन्छ भनेर पत्ता लगाउनुहोस् र त्यही समयमा काम गर्नुहोस्।
६) नोट गर्ने बानी – नोट गर्ने बानीले कक्षामा पनि अन्यत्र ध्यान मोडिन दिँदैन। त्यस्तै, पढ्नुपर्ने विषयलाई छोट्याएर बुझ्न पनि सहयोग गर्छ। कोर्सबुक नै दोहोर्याएर पढ्नुभन्दा नोट पढ्न सजिलो हुन्छ।
७) अध्ययनशील बानी – यो स्वाभाविक छ। तपाईंले पढ्नै पर्छ। पढाइका सही र गलत बाटोहरू थाहा छ तपाईंलाई ? आफूले पढ्नुपर्ने विषयका बारेमा पहिलेदेखि नै जानकार हुनुहोस्। यसले गर्दा अध्ययन सामग्री जम्मा गर्न पनि सजिलो हुन्छ।
८) अध्ययनको स्थान – कुन ठाउँमा बसेर अध्ययन गर्दा तपाईं बढी उत्पादनशील बन्नुहुन्छ ? हल्लाखल्लाबाट अलि टाढा बस्नुहोस्, जहाँ टीभी पनि नहोस्। यस्तो ठाउँ तपाईंको सानो पुस्तकालय पनि हुन सक्छ अथवा सुत्ने कोठा पनि हुन सक्छ।
९) टीमवद्व अध्ययन – साथीहरूसँग मिलेर पढ्दा कक्षामा सरले पढाएको कुरा बुझ्न मद्दत पुग्छ। आफूलाई नआएको विषयमाथि अर्को साथीलाई ज्ञान हुन सक्छ। साथीहरू बीचमा ‘क्विज’ गर्न सक्नुहुन्छ। अथवा, साथीहरू बीचमा कसैलाई पढाउन लगाउनुस्, बुझ्न सहज हुन्छ।
१०) प्रश्न गर्ने बानी – सिक्नका लागि तपाईं स्कुल पुग्नुहुन्छ। त्यसैले, नआएको विषयमा प्रश्न सोध्न नडराउनुहोस्। शिक्षक अथवा साथीहरूलाई नै नजानेको कुरा सोध्नुहोस्। नजानेको विषय पूर्ण रूपमा नबुझेसम्म प्रश्न सोधिरहनुहोस्।



लाेकपाटी न्यूज

