– मिलन आफन्त
मार्क्सवादी दर्शन सर्वहारा वर्गको सङ्घर्षको दर्शन हो। समाजमा वर्गहरुको अस्तित्व रहुञ्जेल वर्ग सङ्घर्ष चलिरहन्छ। वर्ग सङ्घर्षकै बलमा सामन्ती, पूँजीवादी व्यवस्थाको अन्त्य हुन्छ, सर्वहारा वर्गको राज्य स्थापना हुँदै साम्यवादी समाजको निर्माण हुन्छ। यहाँ मार्क्सवादी दर्शनबारे संक्षिप्तमा चर्चा गरिएको छ।
मार्क्सवादको विकास कसरी भयो ?
विश्वका हरेक वस्तु, घटना, प्रक्रिया एवं चिन्तन र अस्तित्व तथा चेतना र पदार्थ बीचको सम्बन्धको विषयमा हेर्ने दृष्टिकोण नै दर्शन हो। द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण हो। आज यो मार्क्सवादी, लेनिनवादी, माओवादी दर्शनको तेस्रो नयाँ र उच्च शिखरमा गुणात्मक रुपले विकशित हुन पुगेको छ ।
द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवाद भनेको मार्क्सादी दर्शन हो, जस्ले विश्वको ब्याख्यामात्र गरेको छैन, अपितु बदल्ने आँखा पनि खोलिदिएको छ। सामान्यतः अहिलेसम्मको मानव समाजको विकास र विशेषतः १८ औं शताब्दी उत्तरार्ध यताको सामाजिक क्रान्ति, अग्रग्रामी उथलपुथल र गुणात्मक फड्कोको गर्भमा यही दर्शनले काम गरेको छ। मार्क्सवादी दर्शनको विकासमा लेनिन र माओले ठूलो योगदान पुर्याउनुभएको छ।
लेनिनको योगदान के छ ?
दर्शन सम्बन्धि मार्क्सवादी सिद्धान्तका सवालमा लेनिनले ब्याख्या गर्नुभएको छ, ‘‘हामी माक्र्सका सिद्धान्तलाई कुनै अन्तिम र अनुल्लंघनीय ठान्दैनौं। यसको विपरीत हामी के कुरामा विश्वास गर्छौ भने यसले केवल त्यस विज्ञानका जगको ढुङ्गामात्र हालेको छ। जसलाई समाजवादीहरुले दशौं दिशामा विकसित तुल्याउनैपर्छ। यदि उनीहरु जीवनसँगै कदम मिलाउन चाहन्छन् भने यस सिद्धान्तले केवल सामान्य निर्देशक सिद्धान्त मात्र प्रदान गर्दछ। जसलाई विशिष्ट रुपमा बेलायतमा फ्रान्सको भन्दा फरक, जर्मनीको भन्दा बेग्लै र जर्मनीमा रुसको भन्दा भिन्न ढङ्गले प्रयोग गरिएको छ।’’
मार्क्सवादी दर्शनको आधारमा लेनिनले सञ्चालन र नेतृत्व गर्नुभएको व्यवहारिक क्रान्तिमार्फत् मार्क्सवादी सिद्धान्तले द्धन्दात्मक भौतिकवादको वैज्ञानिकता मात्र पुष्टि गर्नु भएन, सर्वहारा वर्गलाई दासताबाट मुक्त गर्दा अन्य सम्पूर्ण उत्पीडित जाति, राष्ट्र, क्षेत्र, लिङ्ग, वर्ग र समुदाय पनि मुक्त हुने वैज्ञानिकतालाई प्रमाणित गरिदिनु भयो, जसका कारण मार्क्सवादी दर्शनको आलोकमा संसारभर सर्वहारा आन्दोलनको लहर नै सृष्टि भयो।
के छ माओत्सेतुङको योगदान ?
माओले मार्क्सवादी लेनिनवादी दर्शनलाई ज्ञान सिद्धान्तको रुपमा परिभाषित गर्नुभएको छ। उहाँले सही ज्ञान भनेको वर्गसङ्घर्ष, उत्पादनका निमित्त सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आर्जन हुने कुराको स्पष्ट व्याख्या गर्नुभएको छ। माओले फासीवादी रुप धारण गरेको साम्राज्यवाद र सर्वहारा वर्ग तथा अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थाकै उत्पीडित जनता र राष्ट्रबीचको अन्तरविरोधलाई सही ढंगले विश्लेषण गरी त्यसको समधानको रुपमा नयाँ जनवादी क्रान्तिको संश्लेषण गर्नुभयो, जसलाई चिनियाँ भूमिमा व्यवहारिक प्रयोगसहित प्रमाणित गरेर देखाइदिनुभयो।
उहाँले विशेषतः तेस्रो विश्वका मुलुक र त्यहाँको जनताको राष्ट्रियता र प्रजातन्त्रको एकीकृत मुक्तिको मार्ग पहिल्याउने सवालमा मार्क्सवादी, लेनिनवादी दर्शनको सिर्जनात्मक प्रयोग र विकास गर्नुभएको छ। मार्क्सवादी दर्शनमा मार्क्स, एंगेल्स हुँदै लेनिन, माओले धेरै नै विकास गर्नुभएको छ, जसबारे हामीलाई मार्क्सवादी दर्शनको विकासमा लेनिनवादी आयामबाट र मार्क्सवादी दर्शनको विकासमा माओवादी आयामबाट स्पष्ट हुन्छ। मार्क्सवाद बिना विश्व क्रान्ति सम्भव छैन।
मार्क्सवादी दर्शन भनेको हरेक वस्तु, प्रकृति र मानव समाजलाई बुझ्ने र त्यसैअनुसार आफ्नो जीवनको बाटो ठम्याउने वास्तविक भित्री दृष्टि हो। मार्क्सवादी दर्शनको मुल कडी द्धन्दात्मक भौतिकवाद हो, यो सर्वहारा वर्गको मुक्तिको दर्शन हो। साँचो अर्थमा भन्ने हो भने मार्क्सवादी दर्शन सर्वहारा वर्गको मुक्तिमार्ग हो।



लाेकपाटी न्यूज

