काठमाडौं, २८ वैशाख । फ्रान्सका एक किसानले आफ्ना १५ वटा भेँडालाई स्थानीय विद्यालयमा विद्यार्थीका रुपमा भर्ना गरेका छन् । विद्यार्थीको संख्या कम भएको भन्दै प्रशासनले एउटा कक्षा बन्द गर्ने योजना बनाएपछि ती किसानले आफ्ना १५ वटा भेँडालाई विद्यार्थीका रुपमा भर्ना गरेका हुन् ।
ग्रेनोब्लेको उत्तर पूर्वमा रहेको जुएलस फेरी प्राइमरी स्कूलमा विद्यार्थीको संख्या २६६ बाट २६१ मा झरेको हो । त्यसपछि अधिकारीहरुले एउटा कक्षा बन्द गर्ने योजना बनाएका थिए । तर, स्थानीय किसान मिशेल गिरर्डले प्रतीकात्मक रुपमा आफ्ना केही भेँडालाई विद्यार्थीका रुपमा भर्ना गरेका हुन् ।
मिशेल आफ्ना ५० भेँडासहित विद्यालयले गरेको विशेष समारोहमा उपस्थित थिए, त्यहाँ शिक्षक, बालबालिका र विद्यालयका अधिकारी गरी झण्डै २०० जना उपस्थित थिए ।
स्थानीय मेयरले विद्यालय भर्ना भएका भेँडाहरुलाई जन्मदर्ता प्रमाण पत्र प्रदान गरे । उनले न्यूनतम विद्यार्थी संख्या तोकिँदा विद्यालय बन्द हुने अवस्था आउन नदिनका लागि यस्तो तरिका अपनाउनु परेको पनि बताए ।



लाेकपाटी न्यूज

