काठमाडौं, २८ वैशाख । त्रिवि शिक्षण अस्पतालमा बिरामीले भने जस्तो सुविधा दिन नसक्दा बिरामी निरास भएका छन् । नेपालको मुटु नै मानिएको अस्पतालले बिरामीलाई राम्रो चेकजाँच गरे पनि डिस्चार्ज हुदाँ खासै वास्ता नगरेको बिरामीको गुनासो छ ।
सर्लाही लालबन्दि घर भएकी रनिता चौधरीको दुवै मृगौला खराब भएको छ । रनिता भन्छिन्, ‘सर्लाहीमा ठुलो अस्पताल छैन हामी बिरामी भयौं भने चितवन जाने गर्छांै। चितवनमा त मलाई खासै बिरामी हुनु हुन्न भन्नु भएको थियो तर पनि एक चोटी काठमाडौं गएर चेक गर्नु पछि अफ्ठारो पर्न सक्छ भनेको भएर काठमाडौं आएँ।’
त्यसैबीच निरास हुँदै रनिताका बुढाले भने, ‘यो अस्पतालमा आएको लगभग २२ दिन भयो । आज डिस्चार्ज दिनुभएको छ डाक्टरले तर एक दिन बिराएर डाइलोसिस गर्नु पर्ने छ । अब निको नहुन्जेलसम्म यतै चेकजाँज गर्न बस्नुपर्ने भएको छ । तर न मेरो बास छ नत कपास नै छ । कोठा खोज्न जादाँ कोठा नै पाउँदैन, यहीँ बसौं भने डाक्टरले तपार्इं डिस्चार्जको बिरामी जानु भनेर कराइरहनुभएको छ ।’
उनले अझै थपे, ‘उसै त आर्थिक अवस्था कमजोर छ । त्यसमाथि यस्तो बिरामी आइलागेको छ अस्पतालको व्यवस्था भने धनिको लागि बनेको जस्तो मात्र छ। बिरामी खर्चको के कुरा गर्नु दैनिक खान मात्रै पनि दुई जना कुरुवा अनि एक बिरामी छन् । त्यसको खर्च लगभग १५ सय जति हुन्छ । डाइलोसिस, औषधी र अन्य उपचारको त के कुरा गर्नु ।’
त्यस्तै अर्की भर्खर २० बर्ष पुगेकी बिरामी भन्छिन्, ‘यो मृगौला बिरामी हुनु राम्रो होइन रैछ । उनले रुँदै भनिन्, ‘यही बिरामीको कारण आज म बुवाआमाको लागि बोझ भएँ। जब नेफ्रो वाडमा पुगिन्छ डाक्टरले बोलाएको बोलाएै गर्नु हुन्छ । अब दुई बर्षसम्म औषधी खाए बिराम निको हुन्छ त भन्नुभएको छ । खर्च कहाँबाट जुटाउने होला, बाबाआमाको कमाई भने एक पैसा छैन । मेरो रोगको उपचारको लागि लगभग ५ लाख लाग्छ के गर्ने होला ।’



लाेकपाटी न्यूज

