फास्ट ट्रयाकबाट भए पनि मेलम्ची छिटो ल्याउनुपर्छ : प्रचण्ड

Prachanda_gautam_buddha_stadium-e1548851590915
लाेकपाटी न्यूज

काठमाडौं, २७ वैशाख। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तोसुकै अप्रेसन गरेर भए पनि मेलम्ची छिटो ल्याउनु पर्ने बताएका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठनको प्रथम केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले फास्ट ट्रयाकबाट भए पनि मेलम्ची छिटो ल्याउनुपर्ने बताएका हुन्।

‘मेलम्चीको खानेपानी चाँडै काठमाडौं ल्याउन कूनै ठुलो कुरा होइन। मेलम्चीको खानेपानी काठमाडौं ल्याउनका लागि कस्तो अप्रेसन गर्नुपर्छ, के के गर्नुपर्छ सरकारले गर्छ,’ दाहालले भने, ‘समयमै खानेपानी ल्याउने भनेर लागेकै हो। तर त्यसमा विभिन्न खेलहरु हुन्छन्, तपाईंहरुले देखिहाल्नुभो।’

विश्वका धेरे देशमा खानेपानी निर्यात गर्नसक्ने क्षमता नेपालसँग रहेको प्रचण्डको भनाइ छ। याङ्ग्री र लार्के नदीबाट थप दैनिक ३४ करोड लिटर खानेपानी काठमाडौं ल्याउने थप काम चाँडै अगाडि बढाइने पनि उनले बताए। प्रचण्डले भने, ‘नेपालको सगरमाथालगायत हिमालको पानी विश्व बजारमा निर्यात गर्न सकिन्छ । यसबारे मैले केही समयअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग पनि एउटा छलफल गरेर आएको छु ।’

प्रचण्डले सिंगापुर सागरका बिचमा रहेर पनि खानेपानी मलेसियाबाट मगाइरहनु परेको भन्दै नेपाल जलस्रोतका हिसाबमा धेरै अगाडि रहेको बताए।