काठमाडौं। वरिष्ठ लेखक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार- २०८० बाट सम्मानित भएका छन्। दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा हालै त्रिभुवन विश्वविद्यालयको परिसरमा आयोजित प्रतिभा सम्मान कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिएको हो।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बरालले श्रेष्ठलाई ताम्रपत्र, पचास हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन्। उपकुलपति बरालले राष्ट्रिय योगदानमा समर्पित व्यक्तिको पहिचान गरी सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरेर स्मृति केन्द्रले राष्ट्रिय कर्तव्य पूरा गरेको बताए।
केन्द्रले विगतदेखि संस्कृति, शिक्षा, साहित्य, इतिहास, दर्शन, संस्कृति, ज्योतिष शास्त्र, समाजसेवा जस्ता महत्त्वपूर्ण विषय क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ। कार्यक्रममा साहित्यकार सीता अर्याल र गीता रेग्मी, पुरातत्त्वविद् प्रकाश दर्नाललगायतका केन्द्रका परिवारजनको उपस्थिति रहेको थियो।



लोकपाटी न्यूज

