काठमाडौं, २४ वैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताएका छन्।
‘गोरखापत्र’ प्रकाशन ११९ औँ वर्षमा प्रवेश, गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सव तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसका उपलक्ष्यमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाहका लागि आमसञ्चार माध्यमसँग आग्रह गरे।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले विभिन्न चुनौतीकाबीच सरकारले जनताको आकाङ्क्षानुसार काम गर्दै आएको र आगामी दिनमा समेत प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री बाँस्कोटाले सरकारले यस वर्ष नेपाली पत्रकारिताको धरोहर ‘गोरखापत्र’लाई नयाँ परिवर्तनको वर्षका रुपमा अगाडि बढाउने योजना बनाएको छ भन्दै जिम्मेवारीका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए। “
गोरखापत्रमा पछिल्लो समयमा हिजोका दिनमा भन्दा सुधार आएको छ तर अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता छ, निरन्तरताको क्रमभङ्गता ‘गोरखापत्र’को आवश्यकता हो, त्यसका लागि कामप्रति जिम्मेवार हुनुहोस, गलत गर्नेलाई कुनै पनि हालतमा छाडिने छैन”, मन्त्री बाँस्कोटाले भने।



लाेकपाटी न्यूज

