काठमाडौं। प्रतिनिधि सभामा मदन भण्डारीका हत्यारा पत्ता नलगाएको विषय उठान भएको छ।
मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलले दुई तिहाईको सरकारले किन मदन भण्डारीको हत्यारा पत्ता लगाउन सक्दैन ? भन्दै प्रश्न गरेका छन्।
उनले मदन भण्डारीको नाममा विश्वविद्यालय खोल्ने सरकारको परिकल्पना राम्रो भएको भन्दै उनको हत्याराको बारेमा सरकारले वास्तै नगर्नुको कारण के हो ? भन्ने प्रश्न पनि गरेका छन्। दुई तिहाईको सरकार, भण्डारीका मित्र प्रधानमन्त्री र धर्मपत्नी राष्ट्रपति भएको बेलामा समेत सरकारले मदन भण्डारीको हत्याराको खोजी समेत नगरेको भन्दै जनस्तरमा समेत बेला बेलामा यसबारे चर्चा चल्ने गर्दछ। यही बेलामा कँडेलले भने संसद्मा नै यसबारे कुरा उठाएका हुन्।
नेता कँडेलले फरक प्रसंगमा बालुवाटारको ललिता निवास प्रकरणमा प्रमुख आरोपी मानिएका नवलपरासीका शोभाकान्त ढकाल तत्कालीन एमालेको नेता भएकाले पनि उनलाई उन्मुक्ति दिइएको त होइन ? भन्ने चासो राखेका छन्।
२०७० सालको चुनाव र पछिल्लो आम चुनावमा समेत उनको नाम समानुपातिक सूचीमा राखिएको भन्दै पार्टीको नेता भएकै कारणले त उनीमाथि कारबाही नभएको त होइन ? भन्ने प्रश्न समेत उनले गरे।



लाेकपाटी न्यूज

