राष्ट्रिय सभा अध्यक्षकाे सचिवालयकाे खण्डन : ‘तलवमा अनियमितता भएकाे छैन, अब खाता खोल्छौं’

Ganesh prasad Timalsina
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। ‘चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष’ शिर्षकमा आइतबार विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति राष्ट्रिय सभा अध्यक्षको सचिवालयले सोमबार गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार विभिन्न सञ्चार माध्यममा आएको समाचारले राष्ट्रिय सभा अध्यक्षको गरिमामा आँच पुग्ने गरी गलत प्रचार गरिएकोभन्दै सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। संसदमा निर्वाचित भएर आउने पदाधिकारी तथा सदस्यहरुलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ ले पारिश्रमिक तथा सुविधाको व्यवस्था गरेको सचिवालयका प्रेस विज्ञ अशोक पौडेलद्धारा हस्ताक्षेरित जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

सचिवालयमा कार्यरत सवारी चालक र कार्यालय सहयोगीको बैंक खाता उपलब्ध भइ नसकेका कारण विगतमा जस्तै उनीहरुको पारिश्रमिक अध्यक्षको खातामार्फत भुक्तानी गरिएको विज्ञप्तीमा जनाइएको छ। उनीहरुको बैंक खाता प्राप्त हुनसाथ सोझै व्यक्तिको खातामा जाने व्यवस्था मिलाइने उल्लेख गरिएको छ।

यथार्थलाई तोडमोड गर्दै संघीय संसद सचिवलायको भुक्तानी भरपाइलाई समेत सञ्चार माध्यममले आफ्नो अनुकूल परिमार्जन गरी सि. नंं. १३ देखि १६ सम्मका दुई हलुका सवारी चालक र कार्यालय सहयोगीको पारिश्रमिक ‘सम्माननीयको खाता’ लेखिएको ठाउँमा श्री गणेशप्रसाद तिमिल्सिना लेखेर त्यही नै आधिकारिक भरपाइ जसरी प्रस्तुत गरिएकोभन्दै समाचारको खण्डन गरिएको छ। साथै, यस्ता भ्रम तथा हल्लाका पछाडि नलाग्न सचिवालयले सबैमा आग्रह गरेको छ।

BP

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्