काठमाडौं, २३ वैशाख। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच सोमबार एकता घोषणा हुँदैछ।
काठमाडौंमा सोमबार एक औपचारिक कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो।
एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। एकीकृत पार्टीमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलो वरियतामा रहने छन् भने कार्यकारी अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग रहने छ।
पार्टी एकीकरणपछि डा. भट्टराईले संघीय परिषद्को नेतृत्व गर्दा केन्द्रीय समिति र संसदीय दलको नेतृत्व यादवले गर्ने सहमति भएको छ। एकीकृत पार्टीमा फोरमबाट १६ जना र नयाँ शक्तिबाट ९ जना पदाधिकारी गरी २५ जना रहने छन्।
अहिले संघीय संसद्मा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन्। एकीकरणपछि बन्ने पार्टी १७ सांसदसहित संघीय संसद्को तेस्रो ठूलो दल बन्ने छ।



लाेकपाटी न्यूज

