‘दलित/उत्पीडन, पहिचान र समाधान’ पुस्तकको बिमोचन

Bhim BK Book
लाेकपाटी न्यूज

पोखरा। युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले विगतका दिनमा बिभेदमा पारिएका जाति तथा समुदायलाई बर्तमान संविधानले सार्वभौम अधिकार प्रदान गरेको बताएका छन्।

दलित आन्दोलनका अगुवा एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर विकले प्रकाशित गरेको पुस्तक ‘दलित/उत्पीडन, पहिचान र समाधान’को आइतबार पोखरामा विमोचन गर्दैै उनले उत्पीडनमा पारिएका दलित जाति तथा समुदाय कानूनी रुपमा विभेदबाट मुक्त भएको भन्दै संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने खाँचो औल्याए।

दलित आन्दोलन मानअधिकार र साँस्कृतिक रुपान्तरणको आन्दोलन भएको चर्चा गर्दै मन्त्री विश्वकर्माले भने, ‘यो आन्दोलन दलितको मात्र भन्नु भ्रम हो, नेपाली समाज र राष्ट्रिय महत्वको विषय हो। देशमा विकासलाई एकीकृत रुपमा अघि बढाउन बिभेद बाधक छ।’

मन्त्री विश्वकर्माले दलित मुक्ति आन्दोलनमा खडेरी परेको अवस्थामा प्रकाशित पुस्तक आफैमा उपलब्धी भएको चर्चा गर्दै आन्दोलनलाई अघि बढाउन लेखकले स्पष्ट रुपमा दृष्टिकोण अघि सारेको टिप्पणी गरे।

समृद्ध नेपाल निर्माण गर्ने अभियानमा समाजका एक चौथाई दलित समुदायलाई बाहिर राखेर सफलता प्राप्त नहुने भन्दै उनले समाजमा व्यवहारिक रुपमा बिभेद कायम रहेसम्म देश समृद्ध हुन नसक्ने विचार व्यक्त गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले प्रकाशित पुस्तकमा दलित समस्यालाई उठान गरेको र समाधानका उपाय पनि स्पष्ट रुपमा उल्लेख गरिएको भन्दै अवसर प्राप्त गरेपछि मात्र क्षमता विकास हुने भनाइ राखे।

पुस्तकका लेखक भीमबहादुर विकले विभिन्न समय र सन्दर्शमा आफूले लेखेका लेखहरुको संग्रह र दुई दशकको सर्वहारा वर्गीय आन्दोलन र दलित सामूदायिक आन्दोलनबाट प्राप्त अनुभूतिहरुको सँगालो भएको पुस्तकमा रहेको बताए।

कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सचिव गोविन्द नेपाली, माछापुच्छ्रे गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडी, वाम बुद्धिजिवी रामराज रेग्मी लगायतले दलित समस्या र आन्दोलनलाई नजिकबाट बुझ्न प्रकाशित पुस्तक उपयोगी हुने धारणा राखे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्