काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसले १३ वर्षदेखिका विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नयाँ पुस्तालाई पार्टीप्रति आकर्षित गर्न विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्न लागेको हो।
काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको सभापतित्वमा बसेको बैठकले १३ देखि १८ वर्षका विद्यार्थीका लागि प्रशिक्षण दिने निर्णय गरेको हो। प्रतिष्ठानको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थीका लागि र १९ वर्षदेखि २८ वर्षसम्म उमेर समूहका लागि विशेष कार्यक्रम तर्जुमा गरी संचालन गर्ने।’
विद्यार्थीहरूलाई राष्ट्रियता, लोकतन्त्र, समाजवाद, कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको जीवनी, नेतृत्वको योगदान, नेपाल परिचय, इतिहास, संस्कृतिलगायतका विषयमा जानकारी दिने उद्धेश्यले कार्यक्रम गर्न लागेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिए।
पार्टीको संघीय संसद सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा सदस्यहरूका लागि पनि संवाद र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको आचार्यले जानकारी दिए।
पार्टीको राष्ट्रिय जागरण अभियानलाई सफल बनाउन भन्दै प्रतिष्ठानले विदेशस्थित जनसम्पर्क समितिलाई प्रशिक्षण दिने, संघ, प्रदेश, जिल्ला, क्षेत्र, नगरपालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘काँग्रेस भेला’ आयोजना गर्ने निर्णय गरेको पनि गरेको छ।



लाेकपाटी न्यूज

