सामाजिक सञ्जाल नियमन गछौँ : मन्त्री बाँस्कोटा

Gokul Baskota
लाेकपाटी न्यूज

काभ्रेपलाञ्चोक, २२ वैशाख। नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले गैरसरकारी संस्थालाई नियमन गर्न लागिएको बताएका छन्।

नेपालको सार्वभौमिकसत्ता खलबल्याउने गतिविधि हुन थालेकाले सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकस्थित गैरसरकारी संस्था महासङ्घ नेपालको १६औँ वार्षिक साधारणसभा तथा ८ औँ जिल्ला अधिवेशनलाई आइतबार धुलिखेलमा सम्बोधन गर्दै केही गैर सरकारीका गतिविधिले नेपालको सार्वभौममाथि खतरा पर्ने देखिएपछि नियमन गर्न लागिएको बताएका हुन्।

उनले भने, ‘बाह्य सहयोग स्वीकार्नुपर्छ तर नेपालको अखण्डता र सार्वभौमिकतामा आँच पुग्ने काम गर्न पाइँदैन।’ उनले सरकारको लक्ष्य गैससलाई नियमन गर्ने नै भएको उल्लेख गर्दै पारदर्शी तवरले काम गर्न गैससलाई कसैले नरोक्ने बताए।

‘बाह्य सहयोग कति हार्डवेरमा, कति सफ्टवेयरमा लेखाजोखा हुनुपर्छ’, उनले भने, ‘हामी गैससलाई एउटै डालोमा पनि राख्दैनौँ, छलफल गरौँला, नीति कानून बनाउने बेलामा तपाइँहरुको सुझावको अपेक्षा गछौँ।’
मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल पनि निमयन हुनुपर्ने बताए।

उनले भने, ‘निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेपछि फेसबुकका जन्मदाताले आफैँले नियमन गर्नुपर्दछ भनेका छन्, यसप्रति गम्भीर हुनु आवश्यक छ।’ उनले लोकतन्त्रमा छाडातन्त्र हावी हुन सक्ने खतरा बढेकाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्