बामदेव फेरि चुनाव लड्ने, रामवीरले भने, ‘राजीनामा दिन्नँ’

Bamdev Gautam cpn leader
लाेकपाटी न्यूज

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले आफूसँग राजीनामा मागिएको खुलासा गरेका छन्।

गत असोजमा नेकपाकै नेता वामदेव गौतमलाई सांसद बनाउनका लागि आफू सांसदबाट राजीनामा दिन तयार रहेको बताएर आलोचना र चर्चामा आएका सांसद मानन्धरले एक सार्वजनिक कार्यक्रममा आफूसँग राजीनामा मागिएको र आफूले राजीनामा नदिने बताएका हुन्।

आइतबार प्रगतिशील नागरिक मञ्चले बालाजु–बाइपास सडक खण्डको निर्माणमा भएको अवरोधबारे सार्वजनिक सुनुवाइको कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रमा भाग लिन पुगेका सांसद मानन्धरले आफूसँग राम्रो काम गर्न नसकेको भन्दै राजीनामा मागिएको बताएका हुन्।

‘६ महिना अघि राजीनामा दिन्छु भन्दा जनताको मतको अपमान हुन्छ भन्ने अहिले काम गरेन भनेर राजीनामा माग्ने?’, उनले भने, ‘अब म राजीनामा दिन्नँ।’ उनले राजीनामा कसले मागेको हो भन्ने बारेमा भने केही खुलाएनन्।

सांसद मानधरले राजीनामा दिने बताएपछि स्थानीय नेवार समुदाय उनीसँग रिसाएको थियो। सो क्षेत्रमा सडक निर्माण र बिस्तारका क्रममा लामो समयदेखि विवाद रहँदै आएको छ। बस्तीलाई नै असर गर्नेगरी सडक विस्तार हुन थालेको भन्दै स्थानीयहरु त्यसको विरोधमा उत्रिएका छन्।

रामवीरको भनाइले नेकपाभित्र फेरि विवाद हुने देखिएको छ। उपनिर्वाचन लड्न कस्सिएका बामदेवका विरुद्ध चर्को दवाव आएपछि उनी मौन बस्दै गौतम मौन बस्दै आएका थिए। आइतबारको रामवीरको प्रतिक्रियाले नेकपामा नयाँ बहस सुरु भएको छ।