काठमाडौं, २२ वैशाख। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योग व्यवसायीहरुलाई श्रमिकको सुरक्षा र खुसीलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन्।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २५ औँ स्थापना दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले उत्पादन र उत्पादकत्व प्रत्यक्ष सम्बन्ध श्रमिकसँग गाँसिएकाले उनीहरुको सुरक्षा र खुसीलाई सदैव महत्वका साथ सम्बोधन गर्न सुझाव दिए।
उत्पादन र उत्पादकत्व वृद्धिका लागि श्रमिक र व्यवसायीबीचको सम्बन्ध सुदृढ हुनुपर्ने भन्दै उनले सबै श्रमिकलाई सुरक्षाको अनुभुति दिलाउन सक्नुपर्ने बताए। उनले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी उन्नत प्रविधिका साथ उत्पादनलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए।
महासंघका अध्यक्ष मोहन कटुवालले साना तथा मझौला, लघु उद्यमीलाई ठुला उद्योगलाई भिन्न भिन्न व्यवहार गरि सामाजिक सुरक्षा ऐनको परिधिमा पस्न सक्ने वातावरण श्रृजना गर्न माग गरे। उनले ग्रील तथा स्टील व्यवसायले अझै पनि व्यवसायीक पहिचान पाउन नसकेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए। उनले सरकारको नीतिमा रहेको प्राविधिक शिक्षालाई व्यवहारमा कार्यान्वयन गर्न पनि माग गरे।



लाेकपाटी न्यूज

