काठमाडौं, २१ वैशाख । सभामुख कृष्णबहादुर महराले शताब्दी पुरुष सत्यमोहन जोशीले कला, संस्कृति र साहित्यका क्षेत्रमा गरेको योगदान, अध्ययन, अनुसन्धानको प्रशंसा गरेका छन्।
शनिबार नेपाल कला परिषद् आयोजित समारोहमा सभामुख महराले कला, संस्कृतिमा आफ्नो समयको इतिहास प्रतिबिम्बित हुने बताए। संविधानमा नेपाललाई बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक र बहुजातीय भनेर परिभाषित गरेको चर्चा गर्दै उनलेभने, ‘संविधानमा उल्लेख गरिएको नेपालको सबै विशेषता कलासंस्कृतिमा अभिव्यक्त हुन्छ। जातजाति, भाषा, संस्कृति र धर्मको समुच्च रुप कला हो।’
पत्रकारिताका विविध आयाममध्ये कला-संस्कृतिसम्बन्धी रिपोर्टिङ निकै कठिन र संवेदनशील रहेको उनको भनाइ छ। नेपाल कला, संस्कृति र परम्पराका हिसाबले निकै धनी भएको भन्दै सभामुख महराले कला–संस्कृति बिटको पत्रकारितामार्फत राज्यलाई आकर्षित गर्न जरुरी रहेकोमा जोड दिए ।
देशका कुना काप्चामा रहेका कला संस्कृति र प्रतिभाहरु अहिले पनि ओझेलमा परिरहेको चर्चा गर्दै सभामुख महराले सबैलाई समेट्ने उद्देश्यले नै देशमा संघीय प्रणाली अपनाइएको प्रष्ट पारे।
‘संघीयताको अर्थ देश विभाजन गर्ने भनेको होइन, यो त व्यक्ति र समुदायमा अन्तरनिहित शक्ति, सीप कला संस्कृतिलाई उजागर र सम्बोधन गर्ने भनेको हो, उनले भने, ‘पूर्वदेखि पश्चिमसम्मका देशका कुनाकाप्चामा रहेका कला-संस्कृतिलाई राज्यले फराकिलो भएर समेट्नुपर्छ भन्ने सुझावमा तपाईंहरुको योगदान होस्।’



लाेकपाटी न्यूज

