काठमाडौं। संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताको टुंगो लागेको छ। केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलका दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलिसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पार्टीको नाम समाजवादी पार्टी नेपाल हुनेछ। नेकपा मोडलमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति अनुसार यही वैशाख २३ गते पार्टी घोषणा हुनेछ।
संघीय फोरम र नयाँ शक्तिबीच भएको सहमतिमा पार्टी अध्यक्षमा उपेन्द्र यादव रहने उल्लेख छ। त्यसैगरि संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई रहनेछन्। गत निर्वाचनमा आएको नतिजासँगै डा. भट्टराईले फोरमसँग एकता प्रयास थालेका थिए।
एकतापछि उपेन्द्र शक्तिशाली पार्टीको अध्यक्ष बन्नेछन्। केन्द्रीय समिति उपेन्द्रकै नेतृत्वमा चल्नेछ। पार्टीका नियमित निर्णयहरु उनकै प्रस्तावमा हुनेछन्। यता डा. भट्टराईले संघीय परिषदको नेतृत्व गर्नेछन्।
संघीय परिषद पार्टीको नीति निर्माणको थलो हो, जहाँ पार्टीा रणनीति, कार्यनीतिको तय गरिन्छ। संघीय परिषदको बैठक वर्षमा १२ पटक बस्न सक्छ। तर, केन्द्रीय समितिले परिषदका निर्णयहरु व्यवहारमा लागू गरेका दृष्टान्त नेपालमा कमै भेटिन्छन्।
केन्द्रीय समिति कार्यकारी भूमिका रहन्छ। तर, संघीय परिषद आलंकारिक। एकता प्रक्रियामा डा. भट्टराईले आलंकारिक भूमिकामा चित्त बुझाएका छन्। एकतासँगै व्यवहारतः भट्टराई उपेन्द्रको नेतृत्व स्वीकार्न सहमत भएका छन्।



लाेकपाटी न्यूज

