काभ्रे, २० वैशाख। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रेसलाई खतरा रहेको बताएका छन्।
प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनमा नेता कोइरालाले प्रेसमाथि अधिनायकवादको खतरा बढ्दै गएको बताउँदै प्रेस स्वतन्त्रतामाथि विश्वभर खतरा रहेको बताएका हुन्। सबैभन्दा पहिलो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दोस्रो नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रेसमाथि खतरा रहेको भन्दै उनले भने, ‘मिडियामा आफूविरुद्धको समाचार आएपछि उहाँहरुले म मात्रै सत्य भनेर क्रुर बन्ने गर्नु भएको छ।’
उनले भने, ‘हामी कति निरिह भएछौं भने अदालतले छाडेको पत्रकारलाई त्यही अदालत परिसरमा पक्राउ गर्न प्रहरी जान्छ। तर, हाम्रा पत्रकार मौन बस्छौँ अनि प्रेस स्वतन्त्रता खोज्छौं?’ डा. कोइरालाले नेपालमा अहिले राजा महेन्द्रको भन्दा पनि क्रुर शासन चल्न थालेको भन्दै पत्रकारलाई किन डराएको भन्ने प्रश्नसमेत गरे।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले राज्य गैरजिम्मेवार बन्दा पत्रकारहरुलाई दुख दिने काम मात्र भइएको बताए।



लाेकपाटी न्यूज

