काठमाठौं। तेह्रथुमको फेदाप गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङबाङले सामाजिक सञ्जालमा गालीगलौज गर्ने फेसबुक प्रयोगकर्ता हिमा लिम्बुलाई कारबाहीको माग गर्दै मुद्दा दायर गरेका छन्।
स्थानीय सरकारका प्रमुख समेत रहेका चोङबाङलाई फेसबुकमा बिभिन्न गालीगलौज गरी चरित्रहत्या गर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत हिमा लिम्बुलाई साइबर क्राइम मुद्दामा कारबाही गर्न माग गर्दै जाहेरी दिएका हुन्।
ओयाक्जुङ निबासी दुुर्गा बहादुर मादेम्बाले मादेम्बा डिबी लिम्बूको आइडीबाट फेदाप गाउँपालिकाले नागरिकहरुको चाहना र ईच्छाबिपरित आफ्नो संलग्नतामा उपभोक्ता समिति गठन गरेको भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेपछि सोही स्टाटसमा हिमा लिम्बुले गाउँपालिका अध्यक्ष चोङबाङको नाम उल्लेख गरेर अश्लिल टिप्पणी गरेका थिए।
उजुरी दर्ता गर्दै प्रमूख जिल्ला अधिकारी भक्त खड्काले जिल्लामा पहिलोपल्ट साइबर अपराधको मुद्दा दर्ता भएको बताए। खड्काले गाउँपालिका अध्यक्षलाई गाली गर्ने समय विकास निर्माण र आफ्नै व्यक्तित्व विकासमा खर्चन सुझावसमेत दिएका छन्। यसले युवाहरुको मानसिकता नकारात्मक बन्न नदिने उनले बताए।
यसअघि फेदाप गाउँपालिका वडा नम्बर २ ओयाक्जुङमा स्थानीय पूर्वाधार विकास साझेदारी विकास कार्यक्रमअन्तर्गत ओयाक्जुङ याबरा खेलमैदान निर्माण शीर्षकमा बिनियोजित रकमबाट आयोजना सञ्चालनका लागि पटकपटक प्रयास गरिए पनि समिति गठन हुन नसकेपछि गाउँपालिकाले उपप्रमुखको उपस्थितिमा आम भेला गराई समिति गठन गर्ने निर्णय गरेको थियो।



लाेकपाटी न्यूज
