नेपालमा बर्ड फ्लूबाट एक जनाको मृत्यु , स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

bird flue
लाेकपाटी न्यूज

काठमाण्डौं, १९ वैशाख। नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पशुपंक्षीको ज्यान लिँदै आएको सो रोगको संक्रमणबाट एक जना मानिसको पनि मृत्यु भएको पुष्टि भएको जानकारी गराएको हो।

२१ वर्षीय एक युवकको बर्ड फ्लूको संक्रमणबाट मृत्यृ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव पुष्पा चौधरीले जानकारी दिइन्। गत चैत्र १० गते ज्वरो र खोकीको लक्षण लिएर टेकूस्थित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकामा भर्ना गरिएका उनको ५ दिनपछि उपचारकै क्रममा मृत्यु भएको हो।

मन्त्रालयले उनको मृत्यु पछि र्‍याल परिक्षणको नमूना जापान पठाएको थियो। जापानको इन्फ्लून्जा सेन्टरले बर्ड फ्लूबाटै उनको ज्यान गएको पुष्टि गरेको रिर्पोट यही वैशाख १७ गते नेपाल पठाएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्ड फ्लूको संक्रमणबाट एक जनाको ज्यान गएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको स्पष्ट पारेको छ। मन्त्रालयले सर्वसाधारणमा आतंक फैल्न सक्ने भन्दै बर्ड फ्लूबाट ज्यान गएको युवकको नाम भने खुलाएको छैन्।

बर्ड फ्लूको संक्रमण भएपछि श्वासप्रश्वासमा समस्या आई मानिसहरुको ज्यान जाने गरेको चिकित्सकहरुले बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो रोगबाट बच्न पशुपंक्षीको मासु राम्रोसँग पकाएर खाने तथा रोग लागेकासँग सधैं टाढा रहन पनि सबैलाई आह्वान समेत गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्