ल्यासा, १९ वैशाख। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मे महीनादेखि लागू हुने गरी तातोपानी नाका खोलेकामा धन्यवाद दिएका छन्।
नेपालले चीनसँग ‘बिआरआइ’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताएका छन्।
ल्हासाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार ल्हासाका नेपाली महावाणिज्यदूतका प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा मे महीनादेखि लागू हुने गरी तातोपानी नाका खोलेकामा धन्यवाद दिएका हुन्।
उनले दृढ मनसाय भएमा जस्तोसुकै स्थानमा पनि विकास र प्रगति गर्न सकिन्छ भन्ने प्रमाण तिब्बतले दिएको बताउँदै तिब्बतले पूर्वाधार, पर्यावरण, प्रविधि तथा जनताको जीवनस्तर उकास्न प्राप्त गरेको सफलताप्रति बधाई व्यक्त गरे।
चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र समितिका उपसचिव तथा तिब्बत स्वशासित क्षेत्रका सरकारका अध्यक्ष छी झालाले राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच भएको सहमति तथा समझदारीलाई कार्यान्वयन गरिने जानकारी दिए।



लाेकपाटी न्यूज

