-शिवजी तिवारी
दिनभर आफूसँगै रहने सूर्य साँझमा टाढा कतै बिलाएपछि धरतीको अनुहार अँध्यारोले छोपिदिन्छ। यहाँका हरेक मान्छेहरूको जीवन त्यही अध्यारोमा कोरिएका बाङ्गाटिङ्गा धर्साहरू नै हुन्। मेरो जीवन पनि त्यही धर्साहरूमा बग्दाबग्दै यहाँसम्म आइपुगेको हो। कतिपयको जीवनमा ती धर्साहरू टुक्रिन्छन् र व्यर्थ हुन्छन्।
बहकिने मन एकतमसा भएको छ। जीवनका सिकाइ जति बाढ्यो त्यति फराकिलो हुने। केही सिक्ने चाहनाले र केही लेख्ने चाहानाले छटपटी भएको छ। लेख्ने के ? किन लेख्ने ? मेरो सिकाइबाट सिक्न चाहने पाठक छन् कि छैनन् ? यदि पाठक छन् भने उनीहरू मेरो लेखबाट अनुभूतिबाट सन्तुष्ट छन् कि छैनन् ? यस्तै दुबिधामा थिएँ। केही साथी र पाठकहरूले लेख्नका लागि प्रेरित गरिरहनुभयो। मैले उहाँहरूको प्रेरणाबाट प्रेरित हुनु आवश्यक ठानेर लेख्न थालेँ। सम्झनाको पोकोमा भएका सबैलाई लेख्दा त्यो लेखाइ अव्यवस्थित हुन्छ। निश्चित संरचनामा ढाल्नु, व्यवस्थित गर्नु र कलात्मक बनाउने चुनौती स्विकार्दै थालेँ लेख्न।
फेरि उही यात्रा……
हलेसीको दर्शन सकिएपछि हामीले हाम्रो यात्राको सबैभन्दा कठिन ठानिएको पाथीभरा यात्रा सुरु गर्यौं। हलेसीदेखी झन्डै ३५० कि.मि. टाढा फिक्कल बजार, हामी त्यही बस्ने पूर्व योजना अनुरूप मध्यान्ह १२ बजे हलेसीबाट हिड्यौं। मध्य पहाडी लोक मार्ग हुँदै दुधकोशी नदी पार गरेर करिब ५ घण्टाको यात्रा पश्चात् उदयपुरको कटारी पुगिया। थकान मेट्दै चिया खाजा खाएपछि पुनः यात्रालाई निरन्तरता दियौँ। रातको १२ बजेतिर हामी फिक्कल पुग्यौं।
ताप्लेजुङको यात्रा
बिहान ७ बजे नै ताप्लेजुङको यात्रा सुरु भयो। करिब ११ बजेको हुँदो हो, इलाम र पाँचथरको सिमानामा पर्ने राँके भञ्ज्याङ् पुग्दा। स्थानीय एक होटेलमा चौरीको घ्यूसँग निकै स्वादिलो खाना खाइयो। गर्मी मौसम भए पनि जाडो नै लाग्ने राके भञ्ज्याङ्बाट मौसम सफा भएको हुँदा झापाका समथर फाँटसँगै खुलेका हिमाल देख्न पाइयो। गर्मी याममा पनि हल्का जाडो भएको महसुस भयो। अहिले त यस्तो छ, जाडो याममा कस्तो हुन्छ होला भनेर स्थानीय एक दिदीलाई सोधेको त जाडोको कुरै नगरौँ। तीन पाने नलगाई टिक्नै सकिँदैन ठट्यौली पाराम भन्नुभयो। खाना खाएर म र प्रकाश भण्डारी सर केही अगाडि बढ्ने बित्तिकै चोकमा अकबरी खुर्सानीको प्रतिमा देखेपछि निकै उत्सुकता जाग्यो।
राँके भञ्ज्याङ् सानोतिनो व्यापारिक केन्द्र नै रहेछ। यहाँ मुख्यतः नगदे बाली आलु, अलैची, अदुवा अम्लिसो र चिराइतो लोठसल्ला जस्ता जडिबुटीहरु यो बजारमा बिक्रिबितरण गरिने रहेछ। स्थानीय उत्पादनको रुपमा यो ठाउँमा चमैता, एकतप्पा, फक्फोक, फाक्तेप, चिलिङ्देन, इम्बुङ, आलु, अकबरे खुर्सानी, इस्कुस, इस्कुसको जरा, सखरखण्ड, घर तरुल, सिमल तरुल, आम्वक, आरु, नास्पाती, लसुन पाइने रहेछ । यहाँ प्रशस्त दूधको उत्पादन हुने भएकाले चिज, घिउ, छुर्पी र खुर्सानीले यो बजारलाई कृषि उपजले सुन्दर आकर्षक र रमणीय बनाएको भान भयो ।
ठुलो फेदीको बास
पहाडको साँगुरो नागबेली बाटो। हामीलाई ठुलो फेदी गएर बास बस्नुथियो। गाडी आफ्नै रफ्तारमा अगाडि बढ्न थाल्यो। साँझको ६ बजे ताप्लेजुङको फुङलिङ बजार पुगियो। फुङलिङबाट डेढ घण्टाको जिपको यात्रा पछि हामी सुके टार पुग्यौँ। हाम्रो टोली, सुके टारमा भोलिपल्टको लागि आवश्यक पुजा सामग्री र एक एक वटा टेक्ने लट्ठी टेकेर उकालो लाग्यो। बिचबिचमा यात्रुलाई सहयोग पुगोस् भनेर बिश्रामस्थल निर्माण गरिएको रहेछ। तिनै बिश्रामस्थलमा आराम गर्दै भजन गाउँदै अगाडि बढेको हाम्रो टोली, झन्डै डेढ घण्टा उकालोपछि गुराँसे डाँडा पुग्यो। त्यहाँ रहेको करुणा गेस्ट हाउसमा खाना खाएर निकै साँगुरा कोठामा प्रति कोठा ६ जनाको दरले आराम गर्यौँ। तिर्थालु भक्तजनहरू रातभर जसो हिँडिरहेको आवाजले निन्द्रा पर्न सकेन। बिहान ४ बजेतिर उठेर पाथीभरा जाने तयारी गर्दै एक एक कप कालो चियाको चुस्की लियौँ।
पाथीभराको यात्रा
बिहान भुक्कभ्क्ते उज्यालो मै सायद ५ बज्दा नबज्दै पाथीभराको मन्दिरतर्फ उक्लन थाल्यौँ झन्डै ४५ मिनेट उकालो चढेपछि सानी पाथीभरा मन्दिर पुगियो। उकालो उक्लन नसक्नेहरूका निम्ति सानी पाथीभराको दर्शन गर्दापनी मनोकाङ्क्षा पूरा हुने विश्वास रहेछ। उक्त मन्दिर दर्शन गरेपस्चात हामी अगाडि बढ्यौँ। पाथीभरा माताप्रति मानिसमा श्रद्धा निकै उच्च रहेछ। झन्डै ५ कि.मि. को उकालो नसक्नेका निम्ति स्थानीय युवाहरूद्वारा मान्छेको तौल अनुरुपको भाडा दर राखेर मन्दिरसम्म बोकेर लैजाने र फिर्ता ल्याइदिने व्यवस्था रहेछ। उकालो यात्रामा केही साथीहरू पछाडि छुट्नुभयो केही साथीहरू हामीलाई उछिनेर अगाडि बढ्नुभयो। म, कुशल लामिछाने सर र विजय सापकोटा सर मन्द गतिमा रमाइला गफ गर्दै अगाडि बढिरह्यौँ।
लगातार ३ घण्टाको उकालो चढेपछि ८ बजे पाथीभरा मन्दिर पुगियो। मङ्गलवार पाथीभरा माताको मन्दिरमा दर्शनार्थीको निकै घुइँचो हुने रहेछ। धेरै उचाइमा रहेकाले यहाँबाट विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमशृङ्खला, कुम्भकर्ण, मकालु, काङ्वाचेन, ल्होत्से हिमालको दृश्यावलोकन गर्न सकिने रहेछ। हामी पुगेको केही समयमै बादलुले ती सुन्दर हिमालयका दृश्य आफ्नो घुम्टो भित्र लुकाइन्। करिब ३ घण्टाको लाइन बस्ने क्रममा मैले स्थानीयहरूसँग स्थानीय विशेषताको बारेमा जानकारी लिने कोसिस गरेँ।
किम्वदन्ति अनुसार
स्थानीयका अनुसार राष्ट्रिय पक्षी डाँफे, नेपालमा मात्र पाइने काँडे भ्याकुर लगायत २ सयभन्दा बढी प्रजातिका चरा, १ सय ५२ प्रजातिका फूल, २८ प्रजातिका लालीगुराँस, दुर्लभ रेडपाण्डा, चितुवा, हिमाली कालो भालुलगायत तीन दर्जनभन्दा बढी जङ्गली जनावर सो क्षेत्रमा पाइने जानकारी दिए। यो क्षेत्रमा पाँचऔंले, कुड्की, जटामसी, चिराइतो जस्ता ५० भन्दा बढी प्रजातिका बहुमूल्य जडीबुटी पाइन्छ रे। यस धाम वरपरका मानिसहरू पाथीभरा देवीलाई साक्षत देवीका रुपमा मान्दा रहेछन्। यसको अवस्थिति अन्न भरेको पाथी जस्तै आकृतिको भएकाले नै पाथीभरा भनिएको रहेछ। देवीको उत्पतिसम्बन्धी किम्बदन्ती अनुसार भेडी गोठालाले गोठ पाथीभरामा सारेका बेला उनको सबै भेडाहरू हराएपछि उनी चिन्तित भएका थिए रे। राति देवीले आत्म बोध गराउँदै भेडा बलीसहित पूजा अर्चना गर्न निर्देशन दिएपछि उनले सोही अनुसार वलीसहित पूजा गरेपछि हराएका सबै भेडा फेला परेका थिए रे। त्यसपछि देवीलाई साक्षत देवीको रुपमा पूजा अर्चना गर्ने प्रचलन रहिआएको किंवदन्तीका रहेछ।
सम्भावना बोकेको स्थल
पाथीभरा देवीको मन्दिर समुद्र सतहदेखि ३७६४ मिटर उचाइमा अवस्थित रहेछ। पाथीभरा माइलाई विश्वास, आस्था एवं पवित्र देवीको रुपमा पुजिदोरहेछ। ताप्लेजुङको सदरमुकाम देखि १७ किलोमिटर पूर्वउत्तर तर्फको दुरीमा रहेको यो पवित्र धाम, धार्मिक आस्थाको केन्द्रका साथै प्राकृतिक सौन्दर्य, दुर्लभ जीवजन्तु तथा वनस्पतिको बेजोड संगमस्थल रहेछ। यहाँ आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना छ। नेपालको पहिलो घामको झुल्को पर्ने, कञ्चनजङ्घा र धार्मिक आस्थाकी धरोहर पाथीभरा देवी साक्षत शक्ति पीठ रहेको पाइन्छ। यो स्थल सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने धेरै आधार रहेछन्। वर्षा याम सकिएपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने रहेछ। आफ्नो मनोकाङ्क्षा हुने अभिप्रायले पाथीभरा मन्दिरमा पूजाआजा गर्न काठमाडौँ, विराटनगर, पोखरा, भारतको आसाम, दार्जिलिङ र तेस्रो देशका पर्यटकहरू आउने गरेको स्थानीय बताउँछन्।
जिप ड्राइभरको ज्यादती
दर्शनका लागी झन्डै ३ घण्टाको पालो कुरेपछि हाम्रो पालो आयो (पालो समयमा नै आउनुमा लाइनलाई व्यवस्थित गर्न लागि पर्नुभएका मेरा परम मित्र प्रकाश भण्डारी सरको स्वयंसेवा निकै सर्हानिय छ) । पूजाआजा सकेर १ बजेतिर हामी अघिल्लो रात बसेको गेस्ट हाउस फर्कियौँ। हामी त्यहाँ पुग्दा ३ बजेको थिया। हतार हतार खाना खाएर हामी सुके टार फर्कियौँ। सुके टार फर्किएपछि दिनभरको थकान नै भुलाउने आपत् आइलाग्यो। त्यहाँबाट फुङलिङ जानको लागि व्यवस्था गरिएको जिपको ज्यादती वर्णन गर्न लायक रहेछ।
दिन बाँकी छँदा स्थानीय जिपको व्यवसायिले पालो लगाएको नाटक गर्ने र साँझ परेपछि मनलाग्दी भाडा असुलेर रिजर्भ भन्ने रहेछन्। अझ बल्लतल्ल पाएको जिपको चलाक१ एउटा हातले मोबाइल समाएर कानमा लगाएर बोल्दै चलाउने गाडीको गति देख्दा श्वासप्रश्वास नै अवरोध भएको भान हुने रहेछ।यति ठुलो धाम यति धेरै तिर्थालु भक्तजनको आस्थाको स्थलमा भएको यो कार्य निकै निकृष्ट लाग्यो। पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेकाले तापमान प्रायः शून्य डिग्रीमा हुने रहेछ। टाउको दुख्ने तथा केही असहज हुने भए पनि खासै चिन्ता लिनु नपर्ने रहेछ। दर्शनार्थीहरुले लेक लाग्नबाट जोगिन घरेलु उपचारका सामग्रीहरू तातोपानी, भुटेका मकै, अदुवा, लसुन गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू बोक्दा सजिलै पुग्न सकिँदो रहेछ।
नृत्य र हुटिङ्गले भुलेको पीडा
बिहान ७ बजे फुङ्लिङ्बाट इलामको कन्यामतर्फ अगाडि बढियो। २ दिन अगाडि हिँडेको बाटो र थकित ज्यान लिएर फर्किएको हुँदा हामीमा खासै उर्जा थिएन। काबेली नदिमा आएर केही समय विश्रामसँगै फोटो खिचियो। काबेलीबाट केही समय यात्रा गरेर राँके भञ्ज्याङ् आएर बिहानको खाना खाइयो। साथीहरूमा थकानले कुनै उर्जा देखिएको थिएन। सबैजसो साथीहरू आफ्ना फोटा आदानप्रदानमा व्यस्त हुनुन्थ्यो। झन्डै ४ बजेको हुँदो हो ऊर्जाशील व्यक्तित्वकी धनी आदरणीय लेखमाया पुन मिस र अति मिलनसार मनमाया गुरुङ मिस मिलेर साथीहरूलाई पालैपालो नचाउँदै तङ्ग्राउन लाग्नुभयो। सबै जना साथीहरू नाच्न थाल्यौँ। नाच्दै गर्दा आदरणीय अर्जुन कार्की सर र हँसिली मिजासिली आदरणीय शशी गुरुङ मिसको पालो आइपुग्यो।
हाम्रो यात्राको निकै यादगार यो नृत्यको जतिसुकै वर्णन गरे पनि अपुरो नै हुन्छ होला। उक्त नृत्यपछि कालिका मा।बिमा आएपस्चात सबभन्दा धेरै गफगाफ भएका हाम्रा अति प्रिय पात्र अर्जुन कार्कीलाई अघिल्लो एक वर्षमा २५ पनि नचिनेको भान भयो। उहाँहरूको नृत्यलाई हेरेर हुटिङ्ग नृत्यलाई हेरेर हुटिङ्ग गर्दा पाथीभरा उक्लिएको सबै थकान भुलियो। नृत्यले मन्त्रमुग्ध आदरणीय कुशल लामिछाने सरले फुल लगाउन सुरुआत गरेपछि माहौल एकाएक गर्मियो। हाम्रो टोलीका सम्पूर्ण साथीहरूले आ९आफ्नो इच्छा अनुसार उहाँहरूलाई फुल लगाइदिनुभयो। यात्रामा भएका सम्पूर्ण थकानलाई लजमा आएर थप नृत्य गरेर मेटाइयो। भोलिपल्ट बिहानै उठेर कन्यामको चिया बगानमा झरेर घुमियो। जतिसुकै वर्णन गरे पनि नसकिने इलाम जिल्लाको बारेमा अघिल्लो वर्ष नै लेखेको हुँदा यहाँ उल्लेख गरिन।
धरान दन्तकाली पुग्दा
कन्यामबाट झापा झरेर बिहानको खाना खाएपछि चर्चाको शिखरमा रहेको उपमहानगरपालिका धरानतर्फ लागियो। धरानमा अवस्थित बुढासुब्बा मन्दिर र दन्तकाली निकै प्रख्यात स्थलहरू हुन्। (बुढा सुब्बाको बारेमा अघिल्लो वर्षको लेखमा उल्लेख गरेको हुँदा यहाँ उल्लेख गरेको छैन।) दन्तकाली मन्दिर धरान नगरपालिका-१४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित रहेछ।
मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा सतीदेवीको दन्त पतन भई शक्ति पीठको रूपमा स्थापित भएको भन्ने मान्यता रहेछ। उक्त मन्दिरमा सतीदेवीका दाँतको प्रतीक स्वरूप एउटा कालो पत्थर राखी पूजाआजा गर्ने गरिएको रहेछ। दन्तकाली क्षेत्रमा दसैँको नौरथामा मेला लाग्दो रहेछ। त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरू दन्त कालीमा पुग्ने रहेछन्। यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्त कालीमा मेला लाग्ने रहेछ। स्वस्थानी व्रत कथामा पनि उल्लेख भएको मन्दिरको साक्षात् दर्शन गर्न पाउँदा मन निकै पुलकित हुन पुग्यो।दन्तकालीको दर्शन गरे लगत्तै हामी विश्वकै प्रथम तीर्थस्थल बराह क्षेत्रतर्फ लाग्यौँ।
पौराणिक देवस्थल वराहक्षेत्र
धेरै वर्ष पहिले हजुरबुबासँगको भलाकुसारीमा हिन्दु पौराणिक कथाका चार क्षेत्रमध्ये २ भारतमा कुरुक्षेत्र र धर्म छेत्र, यस्तै २ नेपालमा मुक्तिनाथ र वराहक्षेत्र रहेको सुनेको थिएँ। धर्म संस्कृतिका ज्ञानी आदरणीय भवानी सङ्कर सुवेदी गुरुले हामी साथीहरूलाई वराहक्षेत्र को बारेमा जानकारी दिनुभयो ।विष्णुको वराह अवतारको पूजाआजा हुने वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थ रहेछ। उहाँको अनुसार वराहक्षेत्र नगरपालिका-१ मा अवस्थित कोका र कोशी नदी संगममा पर्ने यो स्थान वराहक्षेत्र ब्रह्म पुराण वराह पुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको सबैभन्दा पुरानो मध्येको एक देवस्थल मानिने रहेछ। उक्त देवभूमि अवलोकन पश्चात् वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरु वराह, सूर्य वराह, कोका वराह र नागेश्वरी लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला रहेको थाहा पाइयो। त्यहाँ आजभन्दा करिब १५०० वर्ष अगाडि देखिएका मूर्तिहरू भएको सुन्न पाइयो।
स्थानीय पुजा सामग्री व्यवसायीका अनुसार वराहक्षेत्र मा सालैभर मानिसहरूको आवतजावत र जमघट हुने रहेछ। कार्तिक पूर्णिमा र मकर सङ्क्रान्तिमा विशेष किसिमका ठुला मेला लाग्ने रहेछन्। कार्तिक पूर्णिमाका अवसरमा विशेष गरी भारत तिरबाट र मकर सङ्क्रान्तिका अवसरमा नेपालको पहाडी भागबाट मेला भने ज्यादा जसो मानिसहरू वराहक्षेत्र मा आउने गर्दछन् रे। यसबाहेक ऋषि पूर्णिमा, ब्यास पूर्णिमा, फागु पूर्णिमा लगायत विभिन्न एकादशी तथा अन्य व्रत र उत्सवका दिनहरूमा पनि तीर्थयात्रीहरू प्रशस्त मात्रामा वराहक्षेत्र पुग्ने रहेछन्।
वराहक्षेत्रमा हामीले नुहाएर मन्दिर प्रवेश गर्दा भर्खरै साँझको आरती सुरु भएको रहेछ।हामी साथीहरू वराहक्षेत्रको मुख्य मन्दिरको सम्मुखमा बसेर लाखबत्ति ताप्दै भजनकिर्तन गर्न थाल्यौँ। झन्डै १ घण्टाको भजनकिर्तनमा अन्य भक्तजनहरूले पनि हामीलाई साथ दिनुभयो। वराहक्षेत्र पूर्वी नेपालको सबै भन्दा महत्त्वपूर्ण पर्यटकीय स्थल हो भन्दा फरक नपर्ला। धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढा टाढा सम्म फैलिएको छ। पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ। वराहक्षेत्रलाई छेउको कोशी नदी जलक्रीडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्त्वपूर्ण छ।
र, अन्त्यमा बिदाको सदुपयोग गर्दै नयाँ ठाउँको अवलोकन गर्न निस्किएको ७ दिनमा दोलखाको कालिन्चोक र भीमेश्वर, खोटाङको हलेसी, ताप्लेजुङको पाथीभरा, इलामको कन्याम, धरानको बुढासुब्बा र दन्तकाली हुँदै सुनसरीको वराहक्षेत्र को दर्शन र अवलोकन गरेर टुङ्गियो। यस भ्रमणको क्रममा साथ दिने बसका साहुजी सूर्य शाही, चालक नवीन परियार, सहचालक अर्जुन कार्की लगायत हाम्रो भ्रमण टोलीमा रहनुभएका सम्पूर्ण आदरणीय जनहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।



लोकपाटी न्यूज

