एकता ढिलाइले पार्टीलाई ठूलो घाटा भयो : भीम रावल

bhim rawal
लाेकपाटी न्यूज

अछाम, १८ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताएका छन्।

मंगलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले एकीकरणको काम लामो समयसम्म नटुङ्गिँदा तत्काल ठूलो असर नदेखिए पनि पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको बताएका हुन्।

कार्यकर्ता भेलामा नेता रावलले आफू हिँडेको पाइला सम्झनैपर्ने भन्दै कम्युनिस्ट पार्टीको विगतदेखिका घोषणापत्र र चुनावी घोषणापत्र हेरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए। कम्युनिस्ट पार्टीको महानतालाई स्थापित गर्न नेकपाका कार्यकर्ता खरोरूपमा उत्रिनुपर्ने रावलको भनाइ थियो।

नेकपाले नेतृत्व गरेका सबै तहका सरकारले जनताको सुख र समृद्धिका लागि तदअनुरुपका कार्यक्रम अगाडि सारिरहेको नेता रावलले बताए। राष्ट्रियताका सवालमा, नेपाल र नेपालीको स्वाभिमानका सन्दर्भमा सबै नेता कार्यकर्ता जिम्मेवार बन्न आग्रहसमेत गरे।

आफुले राष्ट्रहित र राष्ट्रियताका विषयमा बोल्दा आम नेपाली जनताको साथ र सर्मथन पाएको भन्दै तथ्यविना आफूले कुनै पनि कुरा नगर्ने भएकाले राष्ट्रहितका सन्दर्भमा बोल्न नछाड्ने दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्