मदरसा केन्द्रमा नैतिक शिक्षा पढाइने

madarsa pic
लाेकपाटी न्यूज

काठमाडौं, १७ वैशाख। आतंकवादबाट मुक्त हुने कोसिसमा रहेको पाकिस्तानले देशभरका मदरसाहरुलाई शिक्षा मन्त्रालय मातहत ल्याउने र मुख्यधाराको शिक्षा प्रणाली लागू गर्ने भएको छ।

मदरसाका विद्यार्थीलाई समसामयिक विषय पढाउन नयाँ पाठ्यक्रम बनाउन लागिएको हो। सबै सम्प्रदायलाई आदर गर्न सिकाउने नैतिक शिक्षा पढाइने छ। रावलपिन्डीमा पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले मदरसालाई नियन्त्रणमा लिन र मुख्यधारामा ल्याउन बिभिन्न कदम उठाइने छ।

उनले सबै मदरसालाई शिक्षा मन्त्रालयअन्तर्गत ल्याइने जानकारी दिए।पाकिस्तानमा धार्मिक मदरसाको संख्या बढिरहेको छ। सन् १९४७ मा २४६ मदरसा रहेकामा हाल ३० हजारभन्दा बढी मदरसा छन्।

पाकिस्तानका मदरसाहरुले धार्मिक शिक्षाको आडमा आतंकवादलाई प्रश्रय दिएको आरोप लाग्ने गरेको छ।लश्कर ए तोएबा र अलकायदालाई बम बनाउने र आत्मघाती आक्रमणको प्रशिक्षण दिएको आरोपमा पाकिस्तानको पेशावरस्थित एक मदरसालाई अमेरिकाले आतंकवादी संगठन घोषणा गर्दै प्रतिबन्ध लगाएको छ।