ढोरपाटन (बागलुङ)। गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर काली गण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ ।
“यसपालि दसैँ यतै बित्ने भयो”, कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भनिन्, “पैसा नभई दसैँ कसरी मनाउनु ।” पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दसैँमा पनि बिहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दसैँ काली गण्डकी किनारमै बित्ने उनि बताउँछिन् ।
मिनालगायतका धेरै मजदुर पनि यति बेला काली गण्डकी किनारमा काम गर्नै व्यस्त छन् । गाउँ घरमा दसैँ छाए पनि उनीहरू भने काम कसरी सक्ने भन्नेमै चिन्तित छन्। केही मजदुर भने कात्तिक छ गतेसम्म काम गरी दसैँ मनाउन घर जाने योजनामा पनि छन् । “यहाँ काम गर्ने धेरै साथीहरू दसैँका लागि घर गइसक्नु भयो, केही काममै व्यस्त छौँ । मेरा लागि यसपालि घर जाने वातावरण बनेन”, मिनाले भनिन् ।
पहिले बालुवा बिक्री राम्रो भए पनि अहिले भने खासै नभएको उनको भनाइ छ । “पहिले त बालुवा बिक्री राम्रो थियो । दिनमा रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाइ पनि हुन्थ्यो तर अहिले त्यस्तो राम्रो कमाइ छैन”, उनले सुनाए ।
काली किनारमै बालुवा चाल्ने बिमल सुनारले यसपालि आफूलाई दसैँले नछोएको बताए । “दसैँमा गाउँ जाने रहर थियो तर खर्च नै बढी हुने भएपछि घर गइन”, उनले भने, “बिरामी भएर अस्पताल बस्दा लागेको रु पाँच लाख ऋण तिरिसकेको छैन, ऋण नतिरी कसरी घर जानु ?”
मध्य पहाडी लोक मार्गको अक्षते खण्डमा मजदुरीमा व्यस्त रोल्पा छुनछहारीका पदम बुढा मगरसँग पनि दर्जी र सुनारको जस्तै पीडा छ । “दसैँमा भने जस्तो खर्चको जोहो भएन, तिहारसम्म केही बचत भए घर जाने विचारमा छु, यसपालिको दसैँ यतै मनाइने भइयो”, उनले भने । डेढ वर्ष भारतमा मजदुरी गरेपछि केही समय अघि मात्रै उनी यहाँ आर्इपुगेका थिए । “भारतमा राम्रो कमाइ नभएपछि यहाँ आएको हुँ, यहाँ पनि भने जस्तो कमाइ छैन, आम्दानी नभई घर कसरी जानु ?”, उनले भने ।



लोकपाटी न्यूज