काठमाडौं, १६ वैशाख। क्रिस्चियन धर्मावलम्बी युवराज घिमिरेले बुबाको १३ दिने मृत्यु संस्कार गरेका छन्। पुख्र्यौली घर ताप्लेजुङ र हाल काठमाडौँमा बस्दै आएका ९० वर्षका देवीप्रसाद घिमिरेको ११ दिनअघि निधन भएपछि उनका छोरा युवराजले १३ दिने मृत्यु संस्कार गरेका हुन्।
जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारका लागि पुर्याइएपछि उनको निधन भएको थियो । युवराज घिमिरे र उनको परिवार अहिले आफ्ना बुबाको निधन भएपछि शोकमा छन् । देवीप्रसादका जेठा छोरा हिन्दू धर्मावलम्बी हुन् भने कान्छा छोरा युवराज घिमिरे क्रिस्चियन धर्मावलम्बी हुन् ।
निधनपछि उनको पार्थिव शरीर पशुपति आर्यघाट लगियो र हिन्दू रीतिअनुसार विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरियो। दिवङ्गत भएका देवीप्रसादले पनि १ वर्षअघि क्रिस्चियन धर्म अँगालेको कान्छा छोरा युवराजले बताए । उनले भने, ‘उहाँले १ वर्षअघिबाट क्रिस्चियन धर्म अँगाल्नुभएको थियो तर नियमित चर्च भने जानुभएको थिएन । तपाईंले मेरो फेसबुकमा फोटोहरु हेर्नुभयो भने थाहा हुन्छ ।’
बुबाको निधन भइसकेपछि युवराज काठमाडौं बौद्धमा रहेको घरमा शोक मनाइरहेका छन् भने उनका दाइले झापामा काजक्रिया गरिरहेका छन् । तर फरक फरक धर्मलाई विश्वास गर्ने एउटै परिवारका दुई दाजुभाइले बुबाको काजक्रिया गर्ने शैली केही कुरामा उस्तै–उस्तै तर भिन्न रहेको छ। दुवै दाजुभाइले केस मुण्डन गरेका छन्, सेतो कपडा लगाएका छन्, आफूले मात्र बनाएको १ छाक खाएका छन्।
फरक के छ भने क्रिस्चियन धर्म अँगालेका कान्छा छोरा युवराजले १३ दिनसम्म शोक मनाए पनि बाइबल पढेर बसेका छन् भने झापामा उनका दाइले हिन्दू धर्मअनुसार १३ दिने काजक्रिया गरिहेका छन्। बुबाको अन्तिम संस्कारका दिन पनि उनी पशुपति गए, उनी छुट्टै उभिए, दाजुले दागबत्ती दिए।
बुबाको मृत्युसंस्कारका लागि आफूले कपाल मुण्डन गर्नु र सेतो कपडा लगाउनु बाइबलमा उल्लेख भएअनुसार गरेको बताए। घिमिरे परिवारमा युवराजको परिवार मात्र क्रिस्चियन हुन् । परिवारका अरू हिन्दू छन्। उनले भने, ‘जीवित छँदा त मैले ९० वर्षसम्म बुबालाई पालेर राखेँ भने मृत्यु भएपछि संस्कारको कुरा मात्र देखिन्छ । त्यो कारणले दाजुहरुलाई मैले प्रष्ट भनेँ, जेठो दाजु झापामा हुनुहुन्छ । यहाँ काका बुबाको छोरा हुनुहुन्छ, म क्रिस्चियन भएको नाताले उहाँहरुसँग प्रष्टसँग मूर्तिपूजा चाहिँ म गर्दिनँ किनभने बाइबलले प्रष्टसँग मूर्तिपूजा नगर, प्रकृतिको पूजा नगर भनेर हामीलाई बताउँछ । केस मुण्डन र सेतो कपडा लगाउन म तयार छु, जुन कुरा बाइबलमा पनि आउँछ।’
उनले हिन्दू धर्मअनुसार मृत्यु संस्कारको १३ दिनमा गर्ने गाईदान लगायतका काम गर्न दाजुको परिवालाई आर्थिक सहायता गर्ने पनि बताए । क्रिस्चियन समुदायमा ५ दिनसम्म शोक मनाउने र प्रार्थना गर्ने प्रचलन छ । युवराजको परिवार १० वर्षअघिदेखि क्रिस्चियन धर्ममा आबद्ध छ।



लाेकपाटी न्यूज

