स्याङजा, वैशाख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले जमीन बाँझो राखेर समृद्धि नआउने बताएकी छिन्। देशलाई आत्मनिर्भर बनाउनुका साथै समृद्धि हासिल गर्नका लागि गाउँगाउँमा भएका सबै जमीनको सदुपयोग हुनुपर्ने उनले बताइन्।
गाउँलाई हराभरा बनाउन सके मात्रै आत्मनिर्भर बन्न सकिने भएकाले अब गाउँगाउँबाट समृद्धिको अभियानको सुरुवात गर्नुपर्ने बताइन्। मन्त्री अर्यालले वालिङ नगरपालिका वडा नं. ११ को टापु भञ्याङ राष्ट्रिय माविमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै उक्त कुरा बताएकी हुन्।
अर्काले हेपेर दिएका चीजहरु नेपालका लागि स्वीकार्य नहुने मन्त्री अर्यालको भनाइ छ। उनले भनिन्, ‘स्वाभिमान सबैभन्दा ठूलो कुरा हो, नेपालले गर्न सक्दैन भनेर दिएका चीजहरु हामीले स्वीकार गर्न सक्दैनौं, हामी आफैले मेहेनत गर्नुपर्छ।’
मन्त्री अर्यालले प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको बताइन्। उनले भनिन्, “सीप विनाको शिक्षाको कुनै औचित्य छैन।” सरकार एक स्थानीय तह एक प्राविधिक शिक्षालयको स्थापना गर्ने उद्देश्यका साथ अगाडि बढेको बताउँदै जनस्तरबाट पनि प्रविधिक शिक्षालयको स्थापनाको लागि पहल हुनु सह्रानीय कार्य भएको उनले बताइन्।
महायज्ञमा संकलित रकमले प्राविधिक शिक्षालयको स्थापना गर्नु निकै सकारात्मक पक्ष भएको उनको कथन थियो। शिक्षालयबाट टाढाटाढा रहेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै छात्राबास सहितको प्राविधिक शिक्षालय स्थापनाका लागि सकार प्रतिवद्ध रहेको अर्यालले जानकारी दिइन्।
स्वरेकमा भएका सम्भावनाहरुको पहिचान गरी समृद्धितर्फ लाग्न मन्त्री अर्यालले स्थानीय बासिन्दालाई आग्रह गरिन्। स्वरेकमा पर्यटकीय सम्भावनाहरु रहेकाले पर्यटनका माध्यमबाट यहाँका स्थानीयको जीवनस्तर माथि उकास्न सकिने उनको तर्क थियो।
उद्यम गर्न चाहनेहरुका लागि सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै उनले अब किसानले निर्वाहमूखी नभई व्यावसायिक रुपमा काम गरेर आयआर्जनमा समेत ध्यान दिनुपर्नेमा जोड दिइन्।
सरकारले गरेका राम्रा कार्यको प्रशंसा हुन नसकेको भन्दै मन्त्री अर्यालले भनिन्, “हामीमा सकारात्मक सोँच र संस्कारको आवश्यकता छ, राम्रो कार्यलाई राम्रो भन्नै सक्दैनौैँ। यो सोचाइमा परिवर्तन आउन जरुरी छ।’
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले अहिलेको आवश्यकता प्रविधिक शिक्षा भएको बताउँदै प्रविधिक शिक्षाको विना देशको विकास सम्भव नरहेको बताए।



लाेकपाटी न्यूज

