साहित्यबाटै जीवन धान्न सकिने अवस्था छैन : मुक्त उदास (साहित्य सम्वाद)

mukta udas
लाेकपाटी न्यूज

काठमाडौं। साहित्य निकै रुचाउने र साहित्यमै कलम चलाउने व्यक्ति हुन् मुक्त उदास। उनी सहित्यिक यात्रालाई निरन्तरता दिन ४ वर्ष अघि काठमाडौं आए। उनले यहाँ सङ्गीत सिक्न थाले र गीतहरु लेख्न थाले। विस्तारै सङ्गीत सिकेर गीतहरु लेख्दै जाँदा उनले नेपाली फिल्मका लागि गीत लेख्ने अवसर पनि पाए। नेपाली चलचित्र मेलाका लागि उनले ‘यो मुटुमा अब तिम्रो बास हुनेछ’ बोलको गीत लेखे। यस्तै अर्को चलचित्र ‘पिंजडा ब्याक अगेन’मा पनि ‘तिमी नि आधा म पनि आधा पूरा हुने कहिले’ भन्ने गीत लेखिसकेका छन्।

उनी अहिले पनि साहित्य क्षेत्रमा आफ्नो पहिचान खोज्न काठमाडौंमा लागिरहेका छन्। उनी नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिचान खोज्न संगीत सिकिरहेका छन्। चितवनको कालिका नगरपालिकामा जन्मिएका ‘मुक्त उदास’ सानैदेखि साहित्यमा अत्यन्तै रुचि राख्थे। चितवनमा हुने हरेक साहित्यिक कार्यक्रममा उनको सक्रिय सहभागिता देखिन्थ्यो। उनले गजल लेखनका माध्यमबाट साहित्यमा पाइला टेके।

रेडियो नेपालबाट आउने गजल गंगा उनको मनपर्ने कार्यक्रम रहेछ। गजल गंगामा गजलहरु सुन्दै गर्दा उनलाई गजल लेख्ने चाहाना जाग्यो र उनी गजल लेख्न थाले। उनले लेखेका केही गजलहरु गजल गंगामा पनि पठाए। तर, उनको गजल रेडियोबाट प्रशारण भएन। गजल नबुझ्नुको कारण खोज्दै जाँदा उनलाई आफूले लेखेको गजल पूर्ण नभएको आभास भयो र उनले बिस्तारै गजल लेख्न सिक्न थाले। साहित्याकाशमा एक चम्किला ताराको सम्भावना बोकेका तिनै कवि तथा गजलकार मुक्त उदाससँग लोकपाटीका डेस्क प्रमूख मानमती पाण्डेयले गर्नुभएको साहित्य सम्वाद।

यहाँ कहिलेबाट काठमाडौं आउनुभयो ? थोरै पृष्ठभूमि बताइदिनोस् न।

काठमाडौं आएको चार वर्ष भयो। मेरो घर चाहिँ चितवनको कालिका नगरपालिका हो। तर, म प्राय भरतपुर नै बस्थें। त्यहाँ रहेर नै साहित्यिक कर्ममा इन्भल्भ भएँ। त्यहाँ हुने साहित्यिक माहोलहरुले मलाई यो क्षेत्रमा डोर्‍याउँदै लग्यो। र, केही समय त्यहाँ गुजारी सकेपछि म काठमाडौंको यात्रामा निस्किएँ। काठमाडौं संगीत सिक्ने मनसाय भएर आएको थिएँ।

भनेपछि साहित्यमा आफ्नो भविष्य खोज्छु भन्ने हिसाबले काठमाडौं आउनुभयो ?

त्यस्तो होइन। खासमा म साहित्यमा नै भविष्य खोज्छु, साहित्य कर्म नै गर्छु भनेर त आएको होइन। तर, अहिले साहित्यमा नै अगाडि बढिरहेको स्थिति चाहिँ छ। साहित्यमा भविष्य खोज्ने भनेर पूर्व निर्धारित योजना मसँग थिएन। तर, यहाँ आएपछिको माहोलले त्यतातिर डोर्‍यायो कि भन्ने लाग्छ। अहिले चाहिँ साहित्यकै मार्गमा यात्रारत छु। संगीतको विद्यार्थी बन्न भनेर आएको मान्छे म। सिक्न त अहिले पनि संगीत सिकिरहेकै छु। तर, अपेक्षाअनुरुपको गर्न भने सकिरहेको छैन।

तपाईंलाई साहित्यप्रति कहिले र कसरी रुचि जाग्यो ?

पहिला मैले रेडियो नेपालमा साहित्य सम्बन्धी कार्यक्रम गजलगंगा सुन्थेँ। त्यतिबेला फेसबुकजस्ता सामाजिक सञ्जालको जमाना थिएन। जगलगंगा सुन्दाखेरिको समयमा पत्र प्रेषित गर्ने जमाना थियो। त्यतिबेला मैले पनि त्यो कार्यक्रमका लागि धेरैपल्ट गजल पठाएँ। तर, बज्दैन थियो मेरो गजल। सायद त्यो बेलाका मेरा गजल शीर्षकका मात्र गजल हुन्थे होला, गजलको फम्र्याटमा हुँदैन थिए होला । त्यो नभएपछि त गजल बज्ने कुरा पनि भएन।

त्यसपछि धेरै रेडियोहरुमा लगातार दुई वर्षसम्म आफ्ना गजलहरु पत्रमार्फत् पे्रषित गर्दै गएँ। त्यो अवधिमा, मलाई गजल त याद छैन अहिले तर एउटा गजल बजेको थियो। त्यो बेला अत्यन्तै खुसी भएको थिएँ। घरको बार्दलीमा बसेर मेरो गजल बज्छ बज्दैन भनेर सुनिरहेको अवस्थामा मेरो गजल बजेपछिको त्यो पल अत्यन्तै खुसीको पल थियो।

साहित्यका धेरै विधा छन्, गजल नै लेख्नुको कारण के हो ?

यही कारणले गजल लेख्न थालेको भन्ने पनि छैन। मलाई के लाग्छ भने अरु विधाले भन्दा गजलले थोरै लाइनमा पनि धेरै भाव अटाउन सकिने भएकोले र त्यो बेलाको त्यस्तै साहित्यिक माहोलले पनि म यतातिर तानिएँ कि जस्तो लाग्छ।

पहिलादेखि नै यहाँ गजल लेख्ने, वाचन गर्ने गर्नुहुन्थ्यो। त्यसरी गजल लेख्दा वा वाचनका क्रममा पुरस्कृत भएका क्षणहरु कत्तिको छन् ?

एकपटक कालिका एफएमले आयोजना गरेको गजल प्रतियोगितामा प्रथम भएको थिएँ। कति सालमा हो ठ्याक्कै थाहा त भएन, २०६९ सालमा हो कि जस्तो लाग्छ।

नेपाली गजलकारहरुमा बढीजसो कोबाट प्रभावित हुनुभयो ?

नेपाली गजलभन्दा म बढीजसो इण्डियन सायरहरु, गजलहरु रुचाउने मान्छे। त्यसकारण इण्डियन गजलकारबाट बढी प्रभावित छु। नेपालीमा पनि मोतिराम भट्ट, मनु बाज्राकी, बुँद राना लगायतका गजलकारहरुका गजल सुनेको, पढेको छु। तर, पनि मलाई इण्डियन सायरहरुले बढी नै प्रभावित बनाउँछ। त्यसैबाट म प्रभावित भएको हुँ।

आफैंले गीत गाउने वा लेख्ने पनि गर्नुभएको छ ?

दुईवटा फिल्ममा गीत लेखेको छु। एउटा ‘मेला’ फिल्ममा ‘यो मुटुमा अब तिम्रो बास हुनेछ’ बोलको गीत लेखेको छु। अर्को ‘पिँजडा ब्याक अगेन’ फिल्ममा ‘तिमी नि आधा म पनि आधा पूरा हुने कैले’ गीत लेखेको छु। अब एउटा गीत एल्बममा आउँदैछ, ‘जिन्दगी खास भयो तिमीलाई पाएपछि, दुख पनि मिठास भयो तिमीलाई पाएपछि’ भन्ने। यो म आफैंलाई पनि धेरै मन परेको गीत हो। यी सबै गीतको संगीत चर्चित संगीतकार अर्जुन पोख्रेलले गर्नुभएको छ।

तपाईंले अहिलेसम्म कति गजल लेख्नुभयो, कति प्रकाशित भए ?

यो गजल लेखन प्रकाशनको सन्दर्भमा म कहिले गन्ती गर्दिनँ। म अलि विन्दास मान्छे पनि छु। त्यसकारण यति गजल लेखेँ, यति प्रकाशित भए भनेर गनेर कहिले पनि बस्दिनँ। मेरा गजल प्राय डायरीमा संकलित पनि छैनन्। कतिपय मोबाइलमा होलान्, कतिपय कुनै पानामा छरिएका होलान्। मेरो २०७२ सालमा एउटा संयुक्त गजल संग्रह कैफियत–२ प्रकाशन भएको छ। त्यसमा मेरा २० वटा गजल छन्। ती गजल चाहिँ सुरक्षित छन्।

बजारमा तपाइका गजल मन पराउने श्रोता दर्शक पनि होलान्, उहाँहरुले चाहिँ तपाईका गजल कसरी सुन्न र पढ्न पाउँछन् त ?

म प्रायः मेहफिलहरु, काव्य मुसायाराहरु लगायतका कार्यक्रममा सहभागी भइरहेको हुन्छु। त्यस्तै कार्यक्रमको दौडानमा पूर्व पाँचथरदेखि पश्चिमा सुर्खेतसम्म पनि पुगेको छु। त्यस्तै कार्यक्रममा उहाँहरुले सुन्न पाउनुहुन्छ मलाई।

तपाईंलाई सबैभन्दा मनपर्ने तपाईंको आफ्नै गजल चाहिँ कुन हो ?

निकै अप्ठ्यारो प्रश्न गर्नुभयो। वास्तवमा आफना सन्तान बाबु आमालाई सबै उत्तिकै लाग्छन्। सबै उत्तिकै प्यारा लाग्छन्। त्यस्तै मेरा गजल पनि सबै उस्तै लाग्छ, उत्तिकै मन पर्छ मलाई। त्यसकारण यही गजल चाहिँ मन पर्छ भनेर म भन्न सक्दिनँ। तर, के चाहिँ हो भने पहिलाका मेरा गजलहरु अहिलेको परिवेशमा अलि फिका लाग्छ। तर, पहिलाको परिवेशमा ती पनि प्रिय नै लाग्थे।

पछिल्लो समय कृति प्रकाशनमा लेखकहरुले अलिक हतार गरेकोजस्तो देखिन्छ, तपाइकाे चाहिँ के छ विचार, पाठकले कहिले पढ्न पाउलान् तपाईको कृति ?

मलाई कृति निकाल्नै पर्छ भन्ने त लाग्दैन। किनभने अहिलेको जमाना प्रविधिको जमाना हो। पहिलाको जमानामा कृति महत्वपूर्ण हुन्थ्यो किनकि कसैले पढ्न चाहँदा कृति उपलब्ध गराउनुको विकल्प थिएन। अहिले त पढ्न चाहनेहरुका लागि धेरै विकल्प छन्। यसर्थ मेरो विचारमा कृति निकाल्नै पर्छ भन्ने लाग्दैन। भोलिका दिनमा समय र परिवेश अनुकुल भयो भने निकाल्न पनि सकिन्छ। एउटा कृति दिनुपर्छ भन्ने सोच चाहिँ ममा पनि छ। तर, त्यो सोच अहिले नै पूरा हुँदैन।

एक युवा गजलकार भनेर बजारमा चिनिनु भएको छ, गजल बन्नका लागि के–के आवश्यक हुन्छ?

गजल एउटा सुत्रमा बाँधिएर लेखिन्छ। त्यसका लागि विभिन्न तत्वहरुलाई एउटा फम्र्याटमा ढाल्न वा बुन्न सक्नुपर्छ। काफिया, रदिफ, शेर, मतला, मकता, मिसरा यस्तै चीजहरु गजलमा अनिवार्य हुनुपर्छ जस्तो लाग्छ।

भविष्यको योजना चाहिँ के छ तपाइको ?

मेरो साेंच भनेको संगीतमा नै लाग्ने भन्ने हो, त्यसका लागि पुतलीसडकको अन्तरा म्युजिकबाट संगीत सिकिरहेको पनि छु।

नेपालको सन्दर्भमा गजल वा कविता लेखेर कुनै कवि वा गजलकार बाँच्न सक्छ, कस्तो छ स्थिति ?

नेपालको सन्दर्भमा गजल वा कविता लेखेर नै बाँच्न सक्ने स्थिति भइसकेको छैन। मलाई के लाग्छ भने नेपालको सन्दर्भमा साहित्यिक पाटोमा लागेर नै सुविधासम्पन्न जीवन व्यतित गर्छु भन्नु एउटा मुर्खता होजस्तो लाग्छ। किनभने नेपालमा अन्य विदेशी मुलूकमा जस्तो साहित्य व्यावसायिक भएको छैन।

यहाँले फिल्ममा गीत लेखिसकेको कुरा गर्नुभएको छ, फिल्ममा गीत लेख्ने मौका कसरी पाउनुभयो ?

मेरो धरातल भनेको गजल नै हो। त्यही धरातल टेकेर गीतसम्म आइपुगेँ। फिल्ममा गीत लेख्न कसरी मौका पाएँ भन्ने सन्दर्भमा, अहिलेका चर्चित संगीतकार अर्जुन पोख्रेलसँग मेरो चितवनमा भेट भएको थियो। त्यहाँ एउटा ग्यादरिङ हुँदा गजल सुनाउने काम भयो। उहाँलाई गजल राम्रो लागेपछि तिमीले गीत पनि लेख्न सक्छौं भन्ने तरिकाले मलाई झक्झकाइरहनुभयो। त्यसले गर्दा मेरो ध्यान गीततर्फ पनि गयो।

तर, गीत लेख्न एकदमै गाह्रो छ। गीतमा सरल शब्दहरु सलल बगेको हुनुपर्छ। हामीजस्तो गम्भीर शब्दमा गजल लेख्नेलाई त धेरै कठिन हुन्छ गीत लेख्न। तर पनि उहाँकै हौसलाले मैले गीत लेख्ने प्रयास गरेँ। लेख्दै जाने क्रममा उहाँले केही गीतहरु मन पराउनुभयो र उहाँले नै गीतलाई संगीतबद्ध पनि गरिदिनुभयो।

गीत र गजल दुवै लेखिरहनुभएको छ, अब विशेष फोकस चाहिँ केलाई गर्नुहुन्छ ?

अहिले मेरो काठमाडौंमा बाँच्ने पाटो विशेष गरी गीत नै भएको छ। एक त म बेरोजगार मान्छे, बाँच्न पनि पर्‍यो। थोरै भएपनि आम्दानीको स्रोत गीत भएको छ। त्यसकारण अहिले विशेष फोकस गीतलाई नै गरिरहेको छु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्