बाँके, १२ वैशाख। बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ मा जनसिद्देश्वर बहुमूखी सामुदायिक क्याम्पसको भवन शिलान्यास गरिएको छ। बिहीबार एक कार्यक्रमका बीच भवनको शिलान्यास गरिएको हो।
बाँके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ले उक्त भवनको शिलान्यास गरेका हुन्। सांसद उनले आफ्नो संसद विकास कोषबाट ५० लाख र स्थानीय तहबाट १० लाख गरी ६० लाख रुपैयाँ क्याम्पस भवनका लागि बिनियोजन गरेका थिए।
क्याम्पस भवन शिलान्यास गर्दै सांसद गहतराजले ग्रामीण बस्तीका सर्वसाधारणका छोराछोरी अब उच्च शिक्षाका लागि अन्यत्र धाउनु नपर्ने बताए। उनले भने, ‘तपाईहरुका छोरीछोरी उच्च शिक्षाका लागि अन्यत्र धाउनु पर्दैन। छिटोभन्दा छिटो गुणस्तरीय भवन बन्नेमा म आशावादी छु।
यसअघि सांसद गहतराज स्थानीयका घरदैलोमा पुगी उनीहरुका समस्याबारे जानकारी लिने गरेका थिए। नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गहतराजले केही समयअघि बाँके जिल्लाको विकासलाई प्राथमिकता दिन प्रतिनिधि सभाको ध्यानाकर्षण समेत गराएका थिए।
शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी ५ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए। प्रवेश गर्नेहरुमा बलेश्वर कुर्मी, जगदीश प्रसाद यादव, धनलाल कुर्मी, गोवर्धन यादव र राजेन्द्र धोवी रहेका छन्।



लाेकपाटी न्यूज

