भक्तपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाउने घोषणा गरेका छन्।
मन्त्रालयले भक्तपुरको बोडेमा आयोजना गरेको सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सार्वजनिक विद्यालयको जिम्मेवारी स्थानीय सरकारलाई दिएकाले त्यसका लागि प्रदेश र संघीय सरकारले सहयोग र समन्वय मात्रै गर्ने बताएका छन्।
‘कक्षाकोठाको सिकाइमा सुधार नआएसम्म बाहिरी आवरण चिटिक्क बनाउँदैमा नतिजा राम्रो नआउने बताउँदै मन्त्री पोखरेलले भने, ‘शिक्षक भट्याउने र विद्यार्थीले सुन्ने संस्कारको अब अन्त्य हुनुपर्छ, विद्यार्थीलाई असल आचरण, आफ्नै प्रयासबाट सिक्ने संस्कारको विकास गर्नु आवश्यक छ।’
उनले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तीनवटै तहको सरकार, अभिभावक, शिक्षक, व्यबस्थापक, गैरसरकारी संघसंस्था लगायत सबैको सहयोग आवश्यक रहेको औंल्याउँदै सरकारले एक विद्यालय एक बालविकास केन्द्रको अवधारणा ल्याएको बताए।
उनले भने, ‘एकले अर्कोलाई दोषारोपण गरेर नभई सिर्जनात्मक सहकार्य र साझेदारीबाट अग्रगामी धक्का दिँदै सामुदायिक विद्यालयलाई विकासमा लैजान सक्छौं।’
बाल विकासलाई आकर्षक एवं मनोरञ्जनात्मक शैक्षिक पद्धतिमा लैजानुको साथै शिक्षिकालाई मन्टेश्वरी तालीम प्रदान गर्ने, कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम वैशाखबाट लागू गर्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले विद्यालयमा डिजिटल पाठ्यसामाग्रीको विकास गर्ने, राष्ट्रभाषामा अध्ययन गराइने, शिक्षक तालिम तथा पेशागत विकास र पुरस्कारको व्यवस्था गरिने बताए।



लाेकपाटी न्यूज

