वैशाख १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरका प्रमुख कार्यकारी (सिइओ) ज्याक डोर्सीलाई भेटेर आफ्ना फलोअर किन घटे भन्दै सोधेका छन्।
उक्त भेटमा उपस्थित एक जनाले बताएअनुसार डोर्सीले ट्वीटरले केही फेक अकाउन्ट हटाउने काम गरिरहेकाले चर्चित व्यक्तिका फलोअर घटेको जवाफ दिएका थिए। उनले आफ्नै फलोअर पनि घटेको बताए।
ट्वीटरले आफूलाई पक्षपात गरेको आरोप लगाउँदै आएका ट्रम्पले डोर्सीसँग मंगलबारको भेट धेरै राम्रो भएको भन्दै ट्वीट गरेका छन्। ‘ट्वीटरका ज्याकसँग ह्वाइट हाउसमा भएको भेट धेरै राम्रो भयो। उनीहरूको कम्पनी र सामाजिक सञ्जालको संसारबारे धेरै विषयहरू छलफल भयो,’ ट्रम्पले ट्वीट गरेका छन्।
उनको जवाफमा ट्वीटरका सिइओ डोर्सीले धन्यवाद दिँदै लेखेका छन्, ‘ट्वीटर सार्वजनिक बहसका लागि हो। हामीले यो बहसलाई अझै स्वस्थ र सभ्य बनाउन चाहन्छौं।’ ट्वीटरले परम्परावादीप्रति भेदभाव गर्छ भनेर आरोप लगाएको केही घण्टामै उनले डोर्सीलाई भेटेका हुन्।
भेट भने गत हप्ता तय भएको थियो। आफ्ना फलोअर घटेपछि ट्रम्प रूष्ट थिए। सामाजिक सञ्जाल अध्ययन गर्ने एक कम्पनीले जनाएअनुसार ट्रम्पले २ लाख ४ हजार अर्थात ०.४ प्रतिशत फलोअर गुमाएका छन्।



लाेकपाटी न्यूज

