काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य, कर्णाली प्रदेशका ईञ्चार्ज एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनयुद्ध ऐतिहासिक भएको र त्यसलाई कसैले मेट्न नसक्ने बताएका छन्।
दोलखाको जिरीस्थित श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको ११ औं दिवस दिवस समारोहमा बोल्दै नेता शर्माले शहिदहरुको बलिदानीबाट नै नेपालमा परिवर्तन सम्भव भएको बताएका हुन्। उनले शहिदहरुको सम्मान, योद्धाहरुको कदर गर्दै शहिदहरुले देखाएको बाटोमा अघि बढ्न अपील पनि गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने, ‘ठूलो त्याग र बलिदानीबाट नै हामी आजको दिनसम्म आइपुगेका छौं। कतिपयले जनयुद्धले के गर्यो ? भन्ने पनि गर्छन्। उनीहरुको प्रश्न सुन्दा अनौठो लाग्छ। जनयुद्ध नभएको भए आजको परिवर्तन सम्भव नै थिएन।’
‘जनयुद्धकै कारण देशमा निरंकुश राजतन्त्रको अन्त्यमा भयो, देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो’ शर्माले भने, ‘आज समाजवादउन्मूख संविधान बनेको छ। मौलिक हकहरु सुनिश्चित गरिएको छ। हामीले विश्वकै नमू्ना संविधान बनाएका छौं। यो जनयुद्धकै देन हो, त्यो गौरवशाली सङ्घर्ष हो, यसलाई कसैले मेट्न सक्दैन।’
नेता शर्माले भ्रष्टाचार देशको महारोग भएको बताए। उनले भने, ‘हामीले यति धेरै अधिकार स्थापित गरेका छौं। तर, अहिले पनि हाम्रासामू केही चुनौति छन्। विगतदेखि भ्रष्टाचार गाँजिएका संरचना मुक्त भएका छैनन्, समृद्धिको बलमा समाजवादको आधार तयार पार्नुभयो चुनौति हामीसँग छ।’
नेता शर्माले शहिदहरुको सपना पूरा गर्न नै पार्टी एकता गरिएको बताए। उनले भने, ‘हामी २ पार्टी संसदीय र सशस्त्र क्रान्तिबाट आयौं। तर, लक्ष्य एउटै भएपछि मिल्नुको बिकल्प थिएन। समाजवादी क्रान्तिको उद्देश्यसहित हामी एकतावद्ध भएका छौं।’



लाेकपाटी न्यूज

