धर्म प्रचारको आरोपमा दुई विदेशीसहित पाँच जना पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

दाङ , १० वैशाख। गाउँसहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा प्रहरीले मंगलबार घोराहीमा दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ।

घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेका छन्।

उनीहरुको साथबाट बा १३ प ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगाएतका सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए।

पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरित धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको उनले जानकारी दिए। अमेरीकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई चिठी लेखेको उनले बताए।

एकपटक भिसा रद्द गरी पठाएमा उनी फेरि नेपाल आउन नपाउने उनले जानकारी दिए। होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसहरुलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको पाइएपछि पक्राउ गरिएको पाण्डेले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्