राष्ट्रपतिद्धारा जङ्गी अड्डा भवनको उद्घाटन

jaggi adda pic
लाेकपाटी न्यूज

काठमाडौँ, १० वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको उद्घाटन गरेकी छिन्। सैनिक मुख्यालयमा जङ्गी अड्डामा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन्।

उनि नेपाली सेनाका परमाधिपति हुन्। गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना रहेको छ। विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महिनामा तयार भएको हो।

भवन निर्माणका लागि दैनिक ४ सय जनशक्ति अहोरात्र खटिएका थिए। सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले रु तीन अर्ब ४४ करोड विनियोजन गरेको थियो। उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ कार्यालय सञ्चालन हुनेछ।

अलग अलग सात भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लोे छ। सैनिक मुख्यालयको सङ्गठन संरचनानुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो।

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले गोरखा भूकम्पबाट क्षति भएपछि जङ्गी अड्डाका काम चौरमा पाल टाँगेर गर्नुपरेको घटना सुनाउँदै जङ्गी अड्डा भवन निर्माणसँगै सेनाको पूर्वाधार निर्माणमा व्यावसायिकता र कार्यदक्षता अभिवृद्धि हुने बताए।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछि भइरहेको पुनःनिर्माणको कामको नमूनाका रुपमा सैनिक मुख्यालय भवन रहेको बताए। उनले, “भूकम्पमा क्षति भएका सात लाख निजी घरमध्ये हालसम्म ५० प्रतिशत घर बनिसकेको, ३० प्रतिशत निर्माणाधीन अवस्थामा रहेको तथा २० प्रतिशत लाभग्राहीलाई परेको अप्ठेरो सुल्झाउने क्रममा रहेका छन्।”

आवश्यकतानुसार छाना ९छत०मा हेलिकप्टर अवतरण गराउन मिल्ने गरी निर्माण गरिएको उक्त भवनमा विभिन्न बैठक कक्षसहित ५सय व्यक्ति अटाउने क्षमताको सम्मेलन कक्षसमेत छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट जङ्गी अड्डासहित नेपाली सेनाका एक हजार १०९ भौतिक संरचनाम क्षति पुगेको थियो।

नयाँ भवनबाट दैनिक रूपमा एक हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्न सक्ने आयोजना प्रमुख एवं उपरथी योगन्द्रबहादुर खाँणले जानकारी दिए। भूकम्प प्रतिरोधात्मक उक्त भवनमा क्युविकलसहित ४३० कोठा रहेको उहाँले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्