कञ्चनपुर, ९ वैशाख । कञ्चनपुरको महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसका प्रमुख खेमलाल घिमिरेविरुद्ध विद्यार्थीहरु आन्दोलित भएका छन्।
क्याम्पस प्रमुख खेमलाल घिमिरेविरुद्ध उत्रिएका विद्यार्थी संगठनले सोमबार उनको कुर्सी जलाएका छन् । बेला बेलामा विभिन्न माग राखेर क्याम्पसको शैक्षिक स्तर उकास्नका लागि ध्यानाकर्षण गराउँदा पनि क्यापस प्रमुख तथा प्रशासनले आफूहरुको मागसम्बोधन नगरेका कारण प्रमुखको कुर्सी जलाइएको अखिल क्रान्तिकारी नेता दलबहादुर धामीले बताए ।
साथै प्रमुखको कार्यकक्ष तथा क्याम्पस प्रशासनमा तालाबन्दी पनि गरिएको छ। आक्रोसित विद्यार्थी संगठनले क्याम्पस प्रमुख तथा प्रशासनबिरुद्ध नाराबाजी गर्नुको साथै राजीनामाको माग समेत गरेका थिए। तत्तकाले माग सम्बोधन नगरे कडा कदम चाल्ने विद्यार्थी संगठनको चेतावनी छ।
संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण क्याम्पसको स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा स्थगित भएको छ। सोमबार तय भएको स्नातक तह प्रथम बर्षको अनिवार्य अंग्रेजी विषयको परीक्षा स्थगित भएको क्यापस प्रशासनले जनाएको छ।
तत्कालिन एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी तथा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठन संयुक्त रुपमा क्याम्पस प्रमुखबिरुद्ध खनिएका छन्। पटकपटक माग राखी क्याम्पस प्रमुख तथा प्रशासनको ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधनमा कुनै तदारुकता नदेखाउँदा आन्दोलनमा उत्रिनु परेका संयुक्त विद्यार्थी संगठनले जनाएको छ।
विद्यार्थीलाई कुनै जानकारी नै नगराई क्याम्पसको आन्तरिक विषयबस्तुका कारण प्राध्यापकहरुले नियमित अध्यापन कार्यलाई सुचारु नगर्दा विद्यार्थी संगठन आन्दोलित भएका हुन्। विद्यार्थी संगठनले क्याम्पसको आन्तरिक समस्या समाधान गरेर नियमित अध्यापन गराउनु पर्ने माग राखेर मौखिक तथा लिखित रुपमा ध्यानाकर्षण गराउँदा पनि क्याम्पस प्रमुख घिमिरेले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएकाले आन्दोलन गर्नु परेको नेपाल विद्यार्थी संघका लोकेन्द्र भण्डारीले बताए।
स्नातक तहको परीक्षाको पूर्व–सन्ध्यामा अतिरिक्त कक्षा सञ्चालन गर्नुको साटो प्राध्यापकहरुले आन्तरिक समस्याका कारण अध्यापन नै गराउन छाडेपछि बैशाख ०८ मा विद्यार्थी संगठनले क्याम्पस प्रमुखलाई २४ घण्टे अल्टिमेटम दिएका थिए । तर उक्त समयमा क्यापस प्रमुखले समस्या समाधानमा कुनै चासो नै नदेखाएपछि आन्दोलनमा जान बाध्य भएको अनेरास्ववियुका विद्यार्थी नेता सरोज भण्डारीले बताए ।



लाेकपाटी न्यूज
