काठमाडौं, ८ वैशाख । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मतीमा कञ्चन र सफा पानी बग्ने बताएकी छन्। उनले गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकसिमक निरीक्षण गर्दै यस्तो बताएकी हुन्।
मन्त्री मगरले खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न निरीक्षण गरेकी हुन्। दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गरी शुद्धीकरण गर्ने उद्देश्यले उक्त आयोजना अघि बढाइएको हो ।

खानेपानी मन्त्री मगरले काठमाडौं उपत्यकामा बनिरहेको यस किसिमको प्रशोधन केन्द्रले उपत्यकाको ढलको समस्या धेरै हल हुने बताइन्। उनले आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन समेत दिएकी छन्।
पानी शुद्धीकरण गरेर बाग्मतीमा मिसाइने भएकाले यसबाट काठमाडौं उपत्यकामा सिँचाई र सरसफाइको क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने आयोजनाका प्रमूख तिरेश बहादुर खत्रीले बताए। उनका अनुसार अहिले यो प्रशोधन केन्द्रको भौतिक कार्य करिब ९० प्रतिशत सम्पन्न भएको छ ।
सन् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमूख खत्रीले जानकारी दिएका छन्।
यो प्रशोधन केन्द्रको कार्य सकिएपछि यसबाट करिब ३ मेगावाट बिजुली र मल उत्पादन हुने बताइएको छ । यो प्रशोधन केन्द्रबाट उत्पादन हुने मललाई उचित मूल्यमा किसानहरुलाई बिक्री गरिने लक्ष्य राखिएको छ । यसबाट प्राङ्गगारिक मल उत्पादन हुने बताइएको छ । यो प्रशोधन केन्द्रको निर्माण कार्य भारतको चेन्नईस्थित भि टेक वाबाग कम्पनीले गरिरहेको छ ।



लाेकपाटी न्यूज

