बुटवल, ८ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका सबै विकास कांग्रेसले ल्याएको बताएका छन्। हिजो नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को सम्मेलनमा बोल्दै पौडेलले सरकारको आलोचना गर्दै यस्तो बताएका हुन्।
उनले कांग्रेसले सुरु गरेका आयोजनाहरुको उद्घाटन र फोटो खिचाउँदैमा वर्तमान सरकारको एक वर्षभन्दा बढी समय खेर गएको बताए । नेता पौडेलले वर्तमान सरकारले विकासको प्राथमिकता छुट्टयाउन नसकेको बताउँदै उनले कम्युनिष्ट सरकारको नियत नै ठिक नभएको आरोप लगाए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर–३ रुपन्देहीको भैरहवामा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्टहरुले देश र जनताको बारेमा नसोची केवल पार्टीको बारेमा मात्रै सोचेको आरोप लगाएका हुन् । उनले सरकारका क्रियाकलापहरुले पूर्णरुपमा सरकार असफल सावित भएको समेत दाबी गरे ।
उनले भने, ‘दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारले सुनौलो अवसर पनि बर्बाद पार्यो । सरकार सत्ता र कार्यकर्ताको लागि प्रयोग भएको उनले बताए । उनले सरकारसँग नयाँ योजना तथा कार्यक्रम नभएको र एक वर्षमा जनतालाई अन्यौलमा राख्ने बाहेक अरु केही गर्न नसकेको बताए । वर्तमान सरकार कुहिरोमा हराएको काग जस्तै भएको उल्लेख गर्दै नेता पौडेलले जनताको हित र संविधानको रक्षाका लागि काँग्रेसले सहि कदम चाल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले काँग्रेसले युद्ध जिते पनि लडाईं हारेको टिप्पणी गरे । कांग्रेसको काम निर्वाचन जित्नु र सरकार बनाउने मात्र नभएकोले एक पटकको चुनाव हार्दैमा शीर निहुराउनुपर्ने अवस्था नआएको उनले बताए । आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी परिचालन गर्नुपर्ने थापाले बताए ।
त्यस्तै नेता अर्जुननरसिंह केसीले सरकारले शान्ति सुरक्षा र अमनचयनमा कमजोर सावित भएको बताए । उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले पनि सरकार असफल सावित भइसकेको दाबी गरे । कांग्रेसले सबैलाई जोड्ने काम गरेको उनको भनाइ थियो ।
कांग्रेस संसदीय दलका प्रमूख सचेतक बालकृष्ण खाँणले केपी ओली सरकार ज्ञानेन्द्र पथमा अगाडी बढेको आरोप लगाए । उनले कांग्रेसको अगुवाइमा संविधान तथा महत्वपूर्ण परिवर्तनहरु भएको भन्दै संविधान र परिर्वतनको संरक्षण पनि कांग्रेसले नै गर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाई, कमला पन्त, सांसद प्रकाश रसाइली, पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले स्थानीय तह, प्रदेश सरकारले केन्द्रकै जस्तै जनताको काम नगरी बजेट मात्र सक्ने खेल गरेको आरोप लगाएका छन् ।



लाेकपाटी न्यूज

