एक-दुई बम पड्काएर परिवर्तन हुन्छ भन्नु विप्लवकाे भ्रम हाे : प्रचण्ड

Prachanda_gautam_buddha_stadium-e1548851590915
लाेकपाटी न्यूज

चितवन, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बम पड्काएर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन्।

‘एक, दुई बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिड्ने यो अवस्था होइन,’ उनले भने, ‘घटना घटाएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो।’ आइतबार चितवन कैलाशनगर माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन नआउँने बताएका हुन्। कार्यक्रममा उनले नेक्रविक्रम चन्द्र विप्लवलाई वार्ता, संवादमा आउन समेत आग्रह गरे।

देशमा कम्युनिष्टलाई जनताले दुईतिहाइ मत दिएको र कम्युनिष्टकै सरकार रहेकोले वार्ता, संवादबाटै जाने सकिने वातावरण भएको प्रचण्डले बताए। ‘यो ०५२ साल होइन। हामी ०७६ सालमा पुगेका छौं। संसारले नेपालको शान्ति प्रक्रियालाई हेरेको छ,’ प्रचण्डले भने, ‘विप्लवलगायत सबैलाई राम्रैसँग चिन्छु। उहाँहरु गलत बाटो हिड्दै हुनुहुन्छ भनेर मैले लगातार भन्दै आएको छु।’

संविधानमै समाजवाद उन्मुख राज्य हुने लेखिसकिएकोले परिवर्तनका लागि बमको आतंक आवश्यक नहुने पनि उनले बताए। सरकारले संविधान कार्यान्वयनका लागि कानून निर्माणका काम गरेको पनि उनले बताए। साथै सोमबारसम्म पार्टी एकताका सम्पूर्ण कामहरु टुंग्याउने उनले बताए ।