बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी उन्मूलन सरकारको मूख्य लक्ष्य भएको बताएका छन्। जीतगढीमा शनिबार आयोजित विजयोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल ठट्टाका लागि नभनिएको स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री ओली ज्योतिषीहरुले बकवास गर्दै हिँडेको भन्दै आक्रोश पोखेका छन्। दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे। ओलीले भने, ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनुपर्यो भन्न थालेका छन्। तर, कोही भ्रममा पर्ने छैन।’
राप्रपातर्फ संकेत गर्दै उनले कतिपयले भने धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको बताए। ‘उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन्’ नेकपा विप्लव समूहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधानविरोधी र अपराधपूर्ण क्रियाकलाप समेत भइरहेका छन्, त्यस्ताको वहकावमा नलाग्न म आग्रह गर्छु।’
मुलुकले सुशासन र विकासको बाटो समातेको भन्दै उनले अब अल्मलिन नसकिने बताए। नेपाल दुनियाँको गरीब देश हो भन्ने पहिचान बदल्ने आफ्नो अभिष्ट रहेको भन्दै ओलीले समृद्ध नेपाल सुखी नेपाली नारा त्यत्तिकै अघि नसारिएको बताए।
नेपाली सेनाको प्रशंसा गरेका प्रधानमन्त्री ओलीले नेपाली सेनालाई वंश र व्यक्तिसँग जोडेर हेर्न नहुने धारणा राखे । समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जितगढी जस्तै नेपालले युद्ध जितेका स्थानहरुको संरक्षण र विकास गर्ने अभियान जितगढीबाट शुरु भएको बताए ।
कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खांण, बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी लगायतले जितगढीलाई ऐतिहासिक सम्पदा स्थल र पर्यटकीय स्थलका रुपमा विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए।



लाेकपाटी न्यूज

