राजनीतिक इमान्दारिता बिना देश बन्दैन : प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज

चितवन, ०७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्धिका लागि आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्नुको विकल्प नभएको बताएका छन्। उनले समृद्धिको संकल्प पूरा गर्नका लागि सबै पक्षको सहमति र सहकार्य आवश्यक रहेको पनि स्पष्ट पारेका छन् ।

प्रदेश ३ सरकारले शुक्रबार चितवनमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सबै पक्षको सहमति र सहकार्यबाट देशको समृद्धि र विकास सम्भव हुने बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूले सहमतिका साथ विकास निर्माणमा जाने संकल्प गरेको बताउँदै भने ‘सहमतिका साथ संविधान बनायौं, सहमतिका साथ निर्वाचन गरायौं अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा सुरु गर्ने संकल्प गरेका छौं ।’ आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्नुको विकल्प नरहेको बताउँदै उनले निजी क्षेत्रलाई उद्योगधन्दा र उत्पादनमा लगानी गर्न आह्वान गरे ।

उनले सरकार र प्रतिपक्षीको सपना पनि समृद्धि नै रहेकाले यसलाई साकार बनाउन सहमति र सहकार्य गरी कार्यान्वयन गर्नुपर्ने बताए । निजी क्षेत्रसँग सहकार्य गर्न सबै पक्ष इमानदार हुनुपर्ने बताउँदै उनले सार्वजनिक र निजी क्षेत्र इमानदारिताका साथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने बताए ।

निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न सकिएन भने स्वदेशी र विदेशी लगानी आउँछ भन्ने सपना देख्नु दिवा सपना हुने उनले बताए । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण विगतमा सकारात्मक हुन नसक्दा समस्या देखिएको बताउँदै उनले राज्यले निजी क्षेत्रलाई विश्वास दिलाउन सक्ने गरी काम गर्नुपर्ने बताए ।

२००७ साल, २०१७ साल, २०४६ को जस्तो परिवर्तन अहिलेको नभएको बताउँदै उनले अहिलेको परिवर्तन मात्रात्मक होइन गुणात्मक परिवर्तन भएको बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले विकास निर्माणका लागि योजना नीतिको समस्या नभई कार्यान्वयनको समस्या रहेको बताए । सुन्दर योजना आए पनि कार्यान्वयन नहुनु समस्या रहेको उनको धारणा थियो ।

लगानीको वातावरण बढाउन संघीयतासँगै तीन तहका सरकारले आफ्नो निर्णय क्षमता र गुणस्तर बढाउनुपर्ने नेता महतले बताए । वितरणमुखीभन्दा उत्पादनमुखी हुनुपर्ने बताउँदै उनले विकास निर्माणका कामलाई राजनीतिक विवादको विषय बनाउन नहुने बताए ।

कार्यक्रममा उद्योगपति एवं सांसद विनोद चौधरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेललगायतका उद्योगी व्यवसायी र नीति निर्माताको समेत सहभागिता रहेको थियो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले प्रदेश ३ मा लगानी गर्नुपर्ने क्षेत्रबारेमा प्रस्तुति दिएका थिए ।