थानकाेट-नागढुङ्गा सुरुङमार्ग बन्ने पक्का : अर्थ मन्त्रालयद्वारा बजेट निकासा

pic 9
लाेकपाटी न्यूज

काठमाडौं, ६ बैशाख। थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन थप एक अर्ब ८१ करोड रुपियाँ प्रदान गरिएको छ।

राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि एक अर्ब ८१ करोड रुपियाँ प्रदान गरिएको हो। सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन सो रकम प्रदान गरिएको जानकारी दिए।

उनका अनुसार, अर्थ मन्त्रालयबाट सुरुङमार्ग आयोजनालाई गत हप्ता नै सो रकम प्राप्त भइसकेको छ। “ उक्त सुरुङमार्ग निर्माणका लागि करिब ४ सय २५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ जसका लागि करिब चार अर्ब रुपियाँ आवश्यक पर्छ”उनले भने।

थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्याम खरेलका अनुसार जग्गा अधिग्रहण गर्न काठमाडौँ जिल्लामा पर्ने जग्गाका लागि प्रति आना न्यनूतम नौ लाख रुपियाँदेखि अधिकतम ४२ लाख रुपियाँसम्मको मूल्य निर्धारण गरिएको छ। तर धादिङ जिल्लामा पर्ने जग्गाको मूल्य निर्धारणबारे अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए।

उनका अनुसार प्रस्तावित उक्त सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गामध्ये ३ सय ७६ रोपनी काठमाडौँ जिल्लामा ५५ रोपनी धादिङ जिल्लामा पर्छ। प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र ढाँचा (डिजाइन) यसअघि नै तयार भइसकेको छ। सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन जापान सरकारले गरेको हो।

उक्त सुरुङमार्ग निर्माणका लागि नेपाल सरकार र जापानी सहयोग नियोग ९जाइका० सँग १६ अर्ब रुपियाँको ऋण सहयोग सम्झौता समेत भइसकेको छ। जापानसँग ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौता भएको थियो।

मुलुककै पहिलो टनेल सडकको रुपमा प्रस्तावित सुरुङमार्गको निर्माण प्रक्रिया अगाडि बढाउन चालु आर्थिक वर्षको वजेटमा एक अर्ब ६७ करोड रुपियाँ विनियोजन गरिएको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गरिसक्ने सरकारको लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्